काठमाण्डु– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राजस्व चुहावटसम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
राजस्व चुहावट मुद्दामा संलग्न युनिटी लाइफ इन्टरनेशनल लिमिटेडसँग सम्बन्धित २ जना फरार प्रतिवादीलाई काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो।
उक्त मुद्दामा उच्च अदालत पाटनको २०८१ असोज २७ गतेको फैसलाले एक प्रतिवादीलाई ४ करोड ४४ लाख ७६ हजार ९ सय रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकेको थियो।
सोही मुद्दामा फरार रहेका सर्लाही घर भई हाल काठमाण्डु महानगरपालिका–१४ कुलेश्वर बस्ने ३१ वर्षीय प्रवीण कुमार महतोलाई प्रहरीले चैत २७ गते पक्राउ गरेको जनाएको छ। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको छ।
त्यस्तै, सर्वोच्च अदालतको २०८२ वैशाख १० गतेको फैसलाले अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकेको थियो। सोही मुद्दामा फरार रहेका काठमाण्डु महानगरपालिका–१६ सामाखुसी बस्ने ५२ वर्षीय महेन्द्र के.सी.लाई पनि प्रहरीले चैत २७ गते नै पक्राउ गरेको हो।
उनलाइ फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया