आरजुलाई हङकङमै छाडेर नेपाल आउँदैछन् देउवा

आरजुलाई हङकङमै छाडेर नेपाल आउँदैछन् देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन् ।

देउवानिकट काँग्रेसका एक पूर्वपदाधिकारीले उनी नेपाल फर्कन लागेको बताए । ‘शेरबहादुर दाई पार्टी नेताहरूको नियमति सम्पर्कमा हुनुहुन्छ’, ती नेताले काठमाण्डुपाटीसँग भने, ‘उहाँ केही दिनमा नेपाल फर्कने तयारीमा हुनुहुन्छ ।’

गत १३ फागुनमा सहयोगी भानु देउवाका साथ सिंगापुर उडेका देउवा हाल हङकङमा छन् । देउवा सिंगापुर प्रस्थान गरेको केही दिनपछि पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि भारत हुँदै सिंगापुर पुगेकी थिइन् । देउवाको सचिवालयले ७ चैतमा थप उपचार तथा पारिवारिक कामका लागि उनी हङकङ गएको सार्वजनिक गरेको थियो ।

देउवा पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा भने केही समय हङकङमै रहने छिन् । देउवाको पारिवारिक श्रोतका अनुसार उनको केही दिनअघि मात्र दुर्व घुँडाको शल्यक्रिया गरिएको छ ।

देउवा दम्पत्तिविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सरकारले पक्राउ पुर्जी जारी गरेको छ । देउवाको सम्पत्ति छानबिन गरिरहेको सम्पत्ति शुद्धीकरण विभागले देउवा–आरजुका साथै अन्य पारिवारिक सदस्यको स्वामित्वमा रहेको चल–अचल सम्पत्ति रोक्का गरेको छ ।

सरकारले रेड कर्नर नोटिस जारी गरी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत नेपाल ल्याउने तयारी अघि बढाएका बेला देउवा नेपाल आउन लागेका हुन् । काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलले स्वदेश फर्किएर अनुसन्धानमा सघाउन देउवालाई सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगमा पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत देउवाले सम्पत्तिको विषयलाई लिएर आफू र आफ्नो परिवारमाथि भ्रामक प्रचारबाजी भएको दाबी गरेका थिए ।

आफू र पत्नी आरजु सार्वजनिक पदमा रहँदा नेपालको कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा नियमित रूपमा पेस गरेको भन्दै उनले लेखेका थिए, ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ ।’

लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको र विगतमा गृहमन्त्री र प्रधानमन्त्री बहाल रहँदा भ्रष्टाचारविरोधी कानुन निर्माणमा अग्रसरता लिएको स्मरण पनि गराए थिए ।