काठमाण्डु – सामाजिक सञ्जालमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’विरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका पाँचथरका युवा रिहा भएका छन् ।
गृह मन्त्रालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ती युवालाई चैत २९ गते परिवारको जिम्मा लगाइएको जानकारी दिएको हो ।
गत चैत २६ गते प्रहरीले ती युवालाई साइबर अपराधको अभियोगमा नियन्त्रणमा लिएको थियो । जिल्ला अदालतबाट अनुमति लिएर कानुन बमोजिमको प्रक्रिया अन्तर्गत अनुसन्धान सुरु गरिएको भए पनि हाललाई उनलाई अभिभावकको जिम्मा लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा सरकार संविधानले ग्यारेन्टी गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने उल्लेख छ । यद्यपि विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहेको मन्त्रालयले स्मरण गराएको छ ।
‘समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानुन विपरीतका कार्य हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका कार्यहरूमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको छ ।’
मन्त्रालयले नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको दोहोर्याउँदै सामाजिक सञ्जालको प्रयोग गर्दा कानुनी दायरा र सामाजिक मर्यादाको ख्याल गर्न सबैमा अनुरोध गरेको छ । प्रधानमन्त्री शाहको कूटनीतिक र प्रशासनिक कार्यशैलीको चर्चा भइरहेका बेला सामाजिक सञ्जालमा हुने टीकाटिप्पणी र कानुनी कारबाहीको विषयले निकै चर्चा पाएको थियो ।





प्रतिक्रिया