काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो । टोलीमा डा. फणिन्द्र प्रसाद बराल र राज कुमार पाण्डे लगायत रहेका छन् ।
मन्त्रालयका अनुसार टोलीले गजेन्द्रनारायण सिंह अस्पताल, नारायणी अस्पताल तथा मधेश प्रदेशका अन्य प्रदेशस्तरीय अस्पतालहरू (जनकपुर, महोत्तरी लगायत) सँग समन्वय गरी अनुगमन गर्नेछ ।
अनुगमनका क्रममा हालै जारी गरिएको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुसार सेवा प्रवाह भए/नभएको मूल्यांकन गरिनेछ । मन्त्रालयले उपलब्ध गराएको चेकलिष्टका आधारमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयका कम्प्युटर अधिकृत सुवास अधिकारीद्वारा जारी सूचनामा मन्त्रालयस्तरीय निर्णयअनुसार कार्य अगाडि बढाइएको उल्लेख गरिएको छ ।




प्रतिक्रिया