काठमाण्डु – रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईमा गएराति पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४० रन बनायो ।
आरसीबीका फिल साल्ट र रजत पाटिदारले महत्वपूर्ण योगदान गरे । साल्टले ३६ बलमा समान ६ छक्का र चौकासहित ७८ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, मिचेल सान्टनर र सार्दुल ठाकुरले समान १ विकेट लिए ।
२ सय ४१ रनको लक्ष्य पछ्याएको मुम्बईले पुरै ओभर खेल्दै ५ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि शेरफेन रदरफोर्डले ३१ बलमा ९ छक्का र १ चौकासहित अविजित ७१ रन बनाए । हार्दिकले २२ बलमा ६ चौका र १ छक्कासहित ४० रन जोडे । आरसिबीका सुयश शर्माले २ विकेट लिए ।
यस्तै आइतबार नै भएको पहिलो खेलमा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गुजरातले लखनऊलाई ७ विकेटले हरायो । पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
गुजरातको जितमा तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले उत्कृष्ट प्रर्दशन गर्दै ४ विकेट लिए । १ सय ६५ रनको लक्ष्य पछ्याएको गुजरातका कप्तान शुभमन गिलले ३४ बलमा अर्धशतक पूरा गरे । यो जितसँगै गुजरातले आइपिएलमा लगातार दोस्रो जित हात पारेको छ ।
आईपीएलमा सोमबार बेलुकी पौने ८ बजे सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुनेछ ।




प्रतिक्रिया