काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’मा शिक्षा क्षेत्रको आमूल सुधारका लागि नवीन कार्ययोजना अघि सारिएको छ ।
सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न आगामी २ दशकसम्म लगानी थप्ने रणनीति लिँदै विद्यालय शिक्षामा व्यावहारिक श्रम र नैतिकतालाई जोड्ने विशेष योजना ल्याएको हो ।
शिक्षा प्रणालीलाई जीवन उपयोगी बनाउन सरकारले हप्ताको ४ दिन विद्यार्थीलाई उत्पादन, निर्माण, आविष्कार, खेलकुद, संगीत, कला र साहित्य जस्ता रचनात्मक र व्यावहारिक क्रियाकलापमा लगाउने घोषणा गरेको छ । व्यक्तिगत उन्नयन र देश विकासका लागि व्यावहारिक श्रम–शिक्षामार्फत विद्यार्थीलाई दक्ष बनाउने सरकारको लक्ष्य छ ।
सरकारले विद्यालयहरूमा नैतिक शिक्षाको पठनपाठनलाई अनिवार्य गर्ने भएको छ । आधारभूत तहसम्म स्थानीय मातृभाषामा शिक्षा दिने व्यवस्था मिलाइनेछ । नेपाललाई शान्ति अध्ययन, योग, आयुर्वेद, ध्यान, मानसिक स्वास्थ्य र पूर्वीय दर्शनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता छ । गुरु–चेला परम्परामा आधारित विशेष छात्रवृत्ति र तालिममार्फत मौलिक सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गरी सांस्कृतिक पुनर्जागरण अभियान सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ ।
शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्न सरकारले कठोर नीति लिने भएको छ । शिक्षक र प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्णत: निषेध गरिनेछ भने नियुक्ति, बढुवा र मूल्याङ्कन पूर्ण रूपमा योग्यता प्रणालीमा आधारित हुनेछ । त्रिभुवन विश्वविद्यालयलाई राष्ट्रिय विश्वविद्यालय बनाउँदै उत्कृष्ट केन्द्रको रूपमा विकास गरिनेछ ।
निजी र सरकारी विद्यालयबीचको गुणस्तरको खाडल कम गर्न सामुदायिक विद्यालयको पूर्वाधार, उपकरण र शिक्षक व्यवस्थापनमा लगानी बढाइनेछ । विद्यालयको कार्यसम्पादनलाई विद्यार्थीको सिकाइ उपलब्धिसँग जोडिनेछ । निजी विद्यालयहरूलाई थप सेवामुखी र उत्तरदायी बनाउन नीतिगत सुधार गरिने प्रतिबद्धतामा उल्लेख छ ।
हरेक प्रदेशमा कम्तीमा १ अत्याधुनिक नमूना समावेशी विद्यालय र प्रत्येक स्थानीय तहमा कम्तीमा २ वटा मोडेल विद्यालय स्थापना गरिनेछ । पठन संस्कृतिको विकासका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा सार्वजनिक पुस्तकालय निर्माण गरिने सरकारको योजना छ ।
उच्च शिक्षापछि रोजगारीका लागि विदेश जाने प्रवृत्ति घटाउन ‘पढ्दै कमाउँदै र कमाउँदै पढ्दै’ कार्यक्रम सञ्चालन गरिनेछ । प्राविधिक शिक्षालाई रोजगारमुखी बनाउँदै शैक्षिक क्यालेन्डरको कडाइका साथ पालना गराइनेछ ।




प्रतिक्रिया