प्रहरीको प्रस्टोक्ति : ओली र लेखकको मुद्दामा सर्वाेच्चको परमादेश पालना गरिएको हो

प्रहरीको प्रस्टोक्ति : ओली र लेखकको मुद्दामा सर्वाेच्चको परमादेश पालना गरिएको हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक संलग्न भनिएको ज्यान सम्बन्धी कसूरको अनुसन्धानबारे सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिसरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका विषयमा भ्रामक र अनर्गल सूचना सम्प्रेषण नगर्न सरोकारवाला सबैमा अनुरोध गरेको हो ।

परिसरका अनुसार सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुको निर्देशन बमोजिम आरोपितहरूलाई माथवर व्यक्तिको जमानीमा राखेर कानुनसम्मत ढङ्गले अनुसन्धान भइरहेको छ ।

यसै सन्दर्भमा गत २०८२ चैत ३० गते ‘सिधाकुरा’ नामक यूट्युब च्यानलमा प्रसारित ‘ओली लेखकको अनुसन्धानमा झेल ?’ शीर्षकको १२ मिनेट ४२ सेकेन्ड लामो श्रव्य–दृश्य सामग्रीमा व्यक्त गरिएका धारणा र सूचनाप्रति प्रहरीले आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालयको कानुनी राय परामर्शमा अनुसन्धान भइरहेको अवस्थामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएको छ ।’

प्रहरीले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी भ्रामक र अप्रमाणित सूचना सिर्जना एवं प्रसारण नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ । कानुनी प्रक्रिया बमोजिम भइरहेको अनुसन्धानका तथ्यहरूलाई बङ्ग्याएर प्रचार गर्दा अनुसन्धानको निष्पक्षतामा समेत प्रश्न उठ्न सक्ने भन्दै प्रहरीले जिम्मेवार पत्रकारिताको मर्यादा ख्याल गर्न आग्रह गरेको छ ।