काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा व्यापक छलफल भएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकमा उठेका कतिपय विषयमा थप गहिरो छलफल आवश्यक देखिएकाले बिहीबार पुन: बैठक बस्ने जानकारी दिए ।
उनका अनुसार बुधबारको बैठकमा विशेषगरी भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि थप अध्ययन र विश्लेषण गर्न पार्टीले चासो दिएको छ । प्रतिवेदन अध्ययनका लागि वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले आफ्नो सुझाव पेश गरेको र त्यसप्रति पार्टीले आभार व्यक्त गरेको छ । सो विषयमा पनि बिहीबार थप छलफल गरिने चालिसेले बताए ।
बैठकले पार्टीको नीति तथा प्रशिक्षण कार्यलाई व्यवस्थित गर्न विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘नीति प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेको छ । यसअन्तर्गत नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । निर्वाचनसम्बन्धी कामलाई व्यवस्थित गर्न उपाध्यक्ष पुष्पा भुषालको संयोजकत्वमा स्थायी निर्वाचन संरचना निर्माण गर्ने निर्णय भएको छ ।
पार्टी संगठनलाई प्रभावकारी बनाउन महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सहमहामन्त्री बहादुरसिंह लामा र मुक्त यादव सदस्य रहेको संयन्त्र गठन गरिएको छ । यसले केन्द्रीय कार्यालयमार्फत संगठन समन्वय गर्नेछ ।
क्रियाशील सदस्यता व्यवस्थापनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको समिति गठन गरिएको छ, जसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै काम गर्नेछ ।
पार्टीले संसद्भित्र र बाहिर रहेका दलहरूसँग संवाद तथा सहकार्य गर्न वरिष्ठ नेता अर्जुन नरसिंह केसीको संयोजकत्वमा वार्ता तथा संवाद समिति गठन गरेको छ । समितिले राष्ट्रिय मुद्दामा सहकार्य र पार्टी समावेशीकरण लगायत विषयमा छलफल गर्ने जिम्मेवारी पाएको छ ।
पार्टीका सार्वजनिक कार्यक्रमहरूलाई अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउन आवश्यक कार्यविधिहरू पारित गरिएको प्रवक्ता चालिसेले जानकारी दिए ।
महाधिवेशनको तयारीका क्रममा देखिएका असन्तुष्टि समाधान गर्न तथा समयमै १५औँ महाधिवेशन सम्पन्न गर्न पार्टी सभापति गगनकुमार थापालाई विभिन्न नेताहरूसँग संवाद गर्ने जिम्मेवारी दिइएको छ । बाँकी विषयमा बिहीबार थप छलफल गरी निष्कर्षमा पुग्ने जनाइएको छ ।




प्रतिक्रिया