काठमाण्डु – एमालेले हालै सम्पन्न निर्वाचनमा बेहोरेको पराजयपछि समीक्षा प्रक्रियामा प्रवेश गरेको छ ।
निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको महासचिव शंकर पोखरेलले बताएका छन् ।
प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने महासचिव पोखरेलको भनाइ छ ।
‘एमाले आम निर्वाचन ०८२ मा बेहोर्नु परेको पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको छ। निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने छ’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
समीक्षा प्रक्रियालाई थप व्यवस्थित बनाउन केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव समेत संकलन गरिरहेको पोखरेलले उल्लेख गरेका छन्। प्राप्त तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले अन्तिम समीक्षा गरी संस्थागत धारणा तय गर्ने तयारी गरिएको छ।
उनले लेखेका छन्, ‘निर्वाचन समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ।’
महासचिव पोखरेलका अनुसार समीक्षाको निष्कर्षका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत तथा पुनर्गठित गरिनेछ। साथै उनले यस अवधिमा पार्टीलाई कमजोर बनाउने उद्देश्यले भइरहेको नियोजित र प्रायोजित प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
‘निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ’ उनले लेखेका छन् ।





प्रतिक्रिया