सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : पूर्वराष्ट्रपति भण्डारी

सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : पूर्वराष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी रहेको बताएकी छन् ।

बिहीबार काठमाण्डुमा आयोजित ‘भूमिगत महिला’ पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले पार्टी निर्माणमा महिलाहरूको विभिन्न भूमिकाहरू हुने उल्लेख गर्दै पुस्तकमा तीमध्ये एउटा पक्षलाई बढी उजागर गरिएको बताइन् ।

उनले त्यतिबेलाको कठिन परिस्थितिमा पार्टीको विचारलाई आत्मसात गर्दै महिलाहरूले जोखिमपूर्ण अवस्थाबिच पनि अघि बढेको स्मरण गरिन् ।

उनले भनिन्, ‘पार्टी निर्माणमा विभिन्न भूमिका हुन्छ, त्यो मध्यको पुस्तकमा एउटा भूमिका बढी चर्चा गरिएको छ । अर्को मार्गदर्शनको कुरा हुन्छ, विचारको कुरा पनि हुन्छ । त्यतिखेर पार्टीको विचारलाई स्वीकार गरेर त्यो खालको अप्ठ्यारो काँडैकाँडाको बिचमा उहाँहरू अगाडि बढ्नुभयो । उहाँ अहिलेको नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँहरूबाट हामीले, धेरै कुराहरू सिक्न सक्छौँ ।’

भण्डारीले इतिहासले भविष्यलाई मार्गदर्शन गर्ने उल्लेख गर्दै हरेक वर्तमान कालान्तरमा इतिहास बन्ने बताइन् । उनले भने, ‘हरेक वर्तमान इतिहास हुन्छ, त्यतिखेर वर्तमान थियो, अहिले इतिहास भइरहेको छ । इतिहासले भविष्यलाई मार्गदर्शन गरिरहेको हुन्छ । समय अनुकुल भूमिकाहरू निर्वाह गरेको पात्र चर्चित हुन्छ ।’

लैङ्गिक समानताको सवालमा अझै पनि दृष्टिकोणमा फरक रहेको संकेत गर्दै उनले पुरुष र महिलाबिचको सोचमा केही अन्तर देखिने टिप्पणी गरिन् ।

‘खास गरेर लैङ्गिक समानता र समान प्रतिष्ठाको लागि लडाइँमा अलिकति महिलाप्रतिको दृष्टिकोण पुरुष नेता वा त्यो नेता नभनौं हेर्न दृष्टिकोणमा केही न केही फरक हुन्छ, अन्यथा नलियौं,’ उनले भनिन् ।

२०५६ सालतिरको अवस्थालाई स्मरण गर्दै उनले देश संकटमा परेका बेला महिलाहरूको भूमिका अग्रपंक्तिमा देखिने गरेको बताइन् ।

‘जतिखेर देशमा अप्ठ्यारो परिरहेको हुन्छ, त्यतिखेर महिलाहरूको भूमिका अग्रभागमा देखिएको छ । ०३५/०३६ सालको आन्दोलन पनि हामीले नजिकबाट हेर्‍यौँ, त्यसबेलाको आन्दोलनको अग्रभागमा उभिने नवपुस्ताको रूपमा पर्छौँ । त्यसबेला महिलाप्रति दमन बढ्दै गएपछि महिलाहरूको सहभागिता र नेतृत्व अग्रभागमा आयो,’ उनले भनिन् ।

कार्यक्रममा एमाले नेत्री बिन्दा पाण्डेले पनि बोल्दै भूमिगत आन्दोलनका महिलाहरूको संघर्ष र योगदानको उच्च मूल्याङ्कन गरिनुपर्ने बताइन् ।