काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गरेका छन् ।
काभ्रेको पनौती–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गर्न पनि उनले निर्देशन दिए ।
मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । ‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समय देखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,’ उनले भने ।
निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गर्दै अब ती समस्या समाधान गर्दै अघि बढ्ने तिमिल्सिनाको भनाइ थियो ।
अर्बौँ रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि उनले जानकारी दिए । केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने बताए ।
उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए । त्यस्तै सरकार जनताको सेवाका लागि काम गरिरहेको उल्लेख गदै सेवा प्रवाहमा देखिएका गुनासा छिटो समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले दीर्घकालीन रूपमा बलियो बनाउने उद्देश्यले व्यावसायिक योजना तयार गरिरहेको जानकारी दिए। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात छाप्ने सकिने उनको भनाइ थियो। केन्द्रले करिब आठ अर्बको बजेटसहित विस्तृत योजना सरकारसमक्ष पेस गरेको ढुङ्गानाको भनाइ छ।
कार्यकारी निर्देशक ढुङ्गानाकाअनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ। विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए। यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको पनि उनले बताए ।
त्यस अवसरमा सांसदहरू मधुकुमार चौलागाईं, डा. राम लामा, बदनकुमार भण्डारीलगायतले पनि केन्द्रको निरीक्षण गरेको थियो।




प्रतिक्रिया