भर्चुअल सम्मेलनमा आईजीपीको निर्देशन : चाडपर्वमा चोरी, तस्करी र एनपीएलमा बेटिङ रोक्नू

भर्चुअल सम्मेलनमा आईजीपीको निर्देशन : चाडपर्वमा चोरी, तस्करी र एनपीएलमा बेटिङ रोक्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरी प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै कार्कीले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा शान्ति सुरक्षा कायम गर्न थप सक्रिय हुन आग्रह गरेका हुन्।

उनले नागरिकका गुनासो उचित रूपमा सम्बोधन गर्दै प्रहरी सेवालाई प्रभावकारी, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

समाजमा देखिने चुनौतीको सामना गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न पनि उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए।

चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको यान्त्रिक अवस्था जाँच गर्ने, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण गर्ने र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्नेमाथि कडाइ गर्न उनले निर्देशन दिएका छन्।

यात्रुको सहज र सुरक्षित आवागमनका लागि सरोकारवाला निकायसँग समन्वय गर्न तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि उनले आग्रह गरे।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै कार्कीले सूचना सङ्कलन र विश्लेषणका आधारमा प्रहरी परिचालन प्रभावकारी बनाउनुपर्ने बताए।

जुवातास, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रणमा पनि प्रहरी सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

एनपीएलमा अनलाइन बेटिङ रोक्नू

आईजीपी कार्कीले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थापनमा कुनै त्रुटि हुन नदिन निर्देशन दिएका छन्।

प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङलगायतका गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरी संलग्नलाई कानुनी दायरामा ल्याउन उनले आग्रह गरेका हुन्।

त्यस्तै, बिहीबारदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारीसहित प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका छन्।

सवारी दुर्घटना न्यूनीकरणदेखि एनपीएलको सुरक्षा व्यवस्थापनसम्म प्रहरी परिचालन प्रभावकारी बनाउन आग्रह

विभिन्न स्थानका होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणमा समेत संवेदनशील हुन उनले आग्रह गरे।

गैरव्यावसायिक गतिविधिमाथि कडाइ

प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पूर्ण रूपमा पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा संवेदनशील हुन निर्देशन दिँदै कार्कीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको उद्देश्य प्राप्तिका लागि सामूहिक भावनासहित काम गर्नुपर्ने बताए।

गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने पनि उनले स्पष्ट पारे।

प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई आ–आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गरी कमजोरी समयमै सुधार गर्न उनले निर्देशन दिएका छन्।

मातहतका प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै कार्यसम्पादन सुधारका लागि नवीन कार्ययोजना ल्याउनसमेत उनले आग्रह गरे।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले आ–आफ्नो क्षेत्रको शान्ति सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।

पछिल्लो समय सरकारले कार्कीलाई हटाउने तयारी गरिरहेको चर्चा चलिरहेको छ। उनको ठाउँमा एआईजीपी डा. मनोज केसीलाई ल्याउने चर्चाबीच कार्कीले सक्रियता बढाएका छन्।

पछिल्लो समय सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद खगेन्द्र सुनारले कार्कीमाथि विभिन्न आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिने गरेका थिए ।

तर उनी आफैं एक गम्भीर विवादमा मुछिएपछि सार्वजनिक गतिविधिमा देखिएका छैनन् । सुनारमाथि नै अहिले रास्वपाले छानबिन गरिरहेको छ।