युट्युबरसँग सभामुख अर्यालको दिक्दारीः युट्युबरलाई सम्हाल्दिन पत्रकारहरुसँग सहयोग माग

युट्युबरसँग सभामुख अर्यालको दिक्दारीः युट्युबरलाई सम्हाल्दिन पत्रकारहरुसँग सहयोग माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले संघीय संसदमा सामाजिक सञ्जाल युट्युबको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारसँग सिंहदरबारस्थित संसद सचिवालयमा शुक्रबार भएको अन्तरक्रियामा अर्यालले युट्युबरहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

युट्युबकर्मीमा एउटाले सोधेको प्रश्नको जवाफ दिई नसक्दै अर्काले प्रश्न थप्ने प्रवृत्ति रहेको टिप्पणी उनको थियो । जिम्मेवारीमा रहेका आफूहरुले अनुभव वा क्षमता नभएका कारण प्रश्न नसोध भन्न नमिल्ने भएकाले संसदमा आउने युट्युबरको व्यवस्थापनमा सहयोग गर्न मुलधारका पत्रकारसँग उनले सहयोग मागे ।

‘कोही भर्खरै युट्युब खोलेको साथी होला । कसैले २५ वर्ष पत्रकारिता गरेको होला । बुम बोकेर आएपछि हामीले तिमी माथि नआउ, हामीलाई नसोध । उमेर पुगेको छैन अथवा अनुभव छैन भन्न मिल्दैन’, उनले भने, ‘एउटाले प्रश्न सोधेको हुन्छ । त्यो प्रश्नको उत्तर आउनु त कता हो कता अर्को साथीले यस्तो प्रश्न गर्दिन्छ । अघिल्लो साथीले सोधेका प्रश्नको उत्तर दिने वातावरण नै हुँदैन । पछल्लिो प्रश्नले ‘इरिटेड’ बनाइदिन्छ । एक जनाले प्रश्न सोधेपछि जवाफ नआउञ्जेल फर्किने गर्ने कि ?’ तपाईंहरु अनुभव भएका साथीहरुले उहाँहरुलाई कसरी म्याजेन गर्ने भन्ने विषयमा मलाई र संसद सचिवालयलाई सहयोग गर्नुपर्यो ।’

यस्तै उनले सञ्चार माध्यमलाई जिम्मेवार र मर्यादित पत्रकारिता गर्न पनि आग्रह गरे । सञ्चार माध्यम र सञ्चारकर्मीलाई आफूले लेखेका समाचारका कारण भविष्यमा पछुताउनु नपर्ने गरी काम गर्न आग्रह गरेका हुन् ।

अर्यालले भूमिका निर्वाह गर्ने क्रममा कमजोरी गरेको भए आफूलाई सुझाव दिन आग्रह गर्दै कमजोरी सुधार्न र माफी माग्न तयार रहेको बताए । तर, कमजोरीमाथि खेलेर मनोबल गिराउने काम नगरिदिन उनको आग्रह थियो ।

सभामुख संस्थामाथि जथाभावी प्रहार गर्दा व्यक्तिगत रुपमा आफूलाई भन्दा समाजलाई बढी नोक्सान हुने दाबी अर्यालले गरे ।

‘कमीकमजोरी भयो र सुनाइदिनुभयो भने सुधार्ने शक्ति मसँग छ । तुरुन्तै स्वीकार्न सक्छु । माफी माग्न पनि सक्छु र भोसलिका दिनमा नहोदोर्याउन प्रयास गर्छु’, अर्यालले भने, ‘तर त्यसमै साथीहरुले खेल्दिन थाल्नुभयो भने हामी पनि मान्छे नै हो । हाम्रो मनोबल गिर्न सक्छ । मलाई व्यक्तिगत रुपमा घाटा हुन सक्छ । तर, मलाई भन्दा धेरै घाटा समाजलाई हुन्छ । कहिले काहीं त्यो व्यक्तिमाथि अथवा संस्थामाथि प्रहार गर्दा क्षणिक रुपमा फाइदा भयो भन्ने लाग्न सक्छ । तर, त्यसले समाजलाई यति ठूलो असर गरिरहेको हुन्छ कि त्यसले तपाईंलाई कहीं न कहीं भविष्यमा गएर आफैंलाई ‘गिल्टी’ फिल हुन्छ । कि मैले यो गर्न नपाएको हुन्थ्यो भनेर ।’

आफ्नो भनाइको अर्थ सबै विषय लुकाइदिनु भन्ने नरहेको तर्क गर्दै अर्यालले जनतालाई जानकारी दिने पनि प्रक्रिया हुने उल्लेख गरे । ‘जनतालाई जानकारी दिनुस् । तर जानकारी दिने पनि प्रक्रिया छ । सिस्टम सुसंस्कृत हुनुपर्छ’, उनले भने ।