काठमाण्डु – राष्ट्रिय जेनजी नागरिक अभियानले नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगम घेराउ गर्ने चेतावनी दिए । ‘जनतालई पुरानाहरूको जञ्जालबाट मुक्त गर्छु भन्ने नयाँहरूले जनतालाई महँगीको भारले थिच्ने, दुईतिहाइको उपहारले यहीँ हो,’ सिंहले प्रश्न गरे, ‘यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौं ।’
सहसंयोजक अजय सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत् भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ हुँदा नेपालमा २१९ हुनु लाजमर्दो विषय हो,’ सोडारीले भने ।
५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै सोडारीले भने, ‘कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस् ।’
दुईतिहाइको सरकारले जनतालाई न्याय देलान् भन्ने अपेक्षाबिच पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले भने, ‘पेट्रोलको प्रतिलिटर १५७ बाट २१९ भएको छ, डिजेल/मट्टितेलमा १४२ बाट २३७ पुर्याएर सरकारले आफ्नो शक्ति देखाइदियो ।’
सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्त गर्दै सोडारी भन्छन्, ‘महँगी बढेको बढ्यै छ, मानौं यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन् ।’
परराष्ट्र र कूटनीति खल्बलिँदै गएको, कालापानी लिपुलेकको भूमि अरु देशले नै प्रयोग गर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश व्यक्त गरे । ‘हामी लास र दाष होइनौं, हाम्रो विवेक छ, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अपहरण सह्य छैन, जनजीविका र जनताका आधारभूत समस्यामा हामी १ दिन त के, १ घण्टा पनि कुर्न तयार छैनौँ,’ सोडारीले भने ।
जेनजी प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकार सिंहदरबारमा सर्वसाधारणलाई निषेध गरिएको भन्दै तानाशाही कदमतिर उद्यत आरोप लगाए । जेनजी जमन सिंहले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए । जेनजी सुशील बुढाथोकीले इन्धनको मूल्यलाई स्थिर नराखे सबैतिर महँगी आकाशिने भएकाले तत्काल मूल्य घटाउनुपर्ने बताए । जेनजी अनिष त्रिपाठीले पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धिले दुईतिहाइको बालेन सरकारले जनताको आशा र भरोसामाथि कुठाराघात गरेको जिकिर गरेका छन् ।




प्रतिक्रिया