काठमाण्डु – बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आइतबार बिहानदेखि अवरुद्ध छ ।
पानी परेपछि कटुञ्जे–मङ्गलटार सडक खण्डको विभिन्न ठाउँमा डाइभर्सन बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
अहिले राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा गाडी होल्ड गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
गएको वर्ष असोजको बाढी पहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।
अहिले त्यस क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।




प्रतिक्रिया