काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले राज्य आतंक मच्चाएको आरोप लगाएका छन्।
सरकार अहिले गुण्डाराज र फासीवादतर्फ अघि बढेको गम्भीर आरोप लगाउँदै ओलीले आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा ओलीले देशको स्वतन्त्रता र स्वाधीनता कमजोर बन्दै गएको बताए।
मुलुकले आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको पूर्ण उपयोग गर्न नसक्ने अवस्था सिर्जना भएको आरोप उनले लगाए।
ओलीले अहिलेको परिस्थितिमा चुप लागेर बस्न नसकिने भन्दै आन्दोलनका लागि तयार हुनुपर्नेमा जोड दिए। उनले एमालेले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनताको अधिकारको रक्षाका लागि भूमिका खेल्नुपर्ने बताए।
उनले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यबाट पार्टी विचलित हुन नहुने उल्लेख गरे। त्यसका लागि पार्टीभित्र एकता, अनुशासन र दृढता आवश्यक रहेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले फागुन २१ गतेको निर्वाचनलाई समेत ‘प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला’को संज्ञा दिए। उनले उक्त निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आगामी स्थानीय तहको निर्वाचनमा एमाले विजयी हुने दाबी गरे।
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरणमा जुट्न र राजनीतिक चुनौतीको सामना गर्न तयार रहन आग्रह गरे।
यसैबीच, एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टीमा मनोनीत तीन जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिनेमा इस्तियाक राई, इन्दु कडरिया बिष्ट र पुष्पा केसी भण्डारी रहेका छन्।


प्रतिक्रिया