चक्रवात अर्नबको उपद्रो : भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु, ५७ हजार विस्थापित

चक्रवात अर्नबको उपद्रो : भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु, ५७ हजार विस्थापित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ।

तीव्र हावाहुरी र भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको छ भने ५७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातका कारण रेल र हवाई यातायातसमेत प्रभावित भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात मंगलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो।

त्यसबेला हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो। चक्रवातका कारण राज्यका ३१ वटा घरमा क्षति पुगेको छ।

प्रतिकूल मौसमका कारण ५० वटा रेल र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलबाट सञ्चालन हुने २१ वटा उडान रद्द गरिएका छन्।

विशाखापट्टनममा करिब १८ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको विवरणमा उल्लेख छ। राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का महानिरीक्षक नरेन्द्र सिंह बुन्देलाले चक्रवातको तीव्रता घट्दै गएको र दिउँसोसम्म यो थप कमजोर हुने अनुमान गरिएको बताएका छन्।

ओडिशामा जनजीवन प्रभावित

चक्रवातको प्रभावले ओडिशामा पनि भारी वर्षा भइरहेको छ। वर्षाका कारण १६ जिल्लाका विद्यालय बन्द गरिएका छन् भने करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

आन्ध्र प्रदेश र ओडिशामा विपद्को जोखिम सामना गर्न चार हजार चक्रवात आश्रयस्थल तयार पारिएको समाचारमा उल्लेख छ।

ओडिशामा नोभेम्बर ५ सम्मका लागि २२ वटा एक्सप्रेस तथा यात्रुवाहक रेल रद्द वा स्थगित गरिएका छन्। विशाखापट्टनम-किरन्दुल र राउरकेला–जगदलपुर रेल सेवासमेत प्रभावित भएका छन्।

चक्रवातका कारण केही रेलको सञ्चालन तालिका परिवर्तन गरिएको छ। भारतीय रेलले यात्रुलाई यात्रा गर्नुअघि आधिकारिक वेबसाइट वा नेसनल ट्रेन इन्क्वायरी सिस्टम (एनटीईएस) बाट पछिल्लो जानकारी लिन आग्रह गरेको छ।

नौ राज्यमा वर्षाको चेतावनी

चक्रवातको प्रभाव आन्ध्र प्रदेश र ओडिशामा मात्र सीमित नरहने मौसम पूर्वानुमान गरिएको छ। भारतका नौ राज्यमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाइएको छ।

तेलंगाना र छत्तीसगढमा अक्टोबर २८ र २९ मा भारी वर्षा हुने अनुमान छ। मध्य प्रदेशको पूर्वी भाग र महाराष्ट्रको विदर्भ क्षेत्रमा पनि वर्षा हुन सक्ने जनाइएको छ।

झारखण्ड र बिहारमा अक्टोबर २८ देखि ३० सम्म वर्षाको सम्भावना छ। बिहारका केही स्थानमा अक्टोबर २९ र ३० मा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। उत्तर प्रदेशको पूर्वी क्षेत्रमा अक्टोबर २९ र ३० मा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

छत्तीसगढको रायपुर प्रशासनले पनि सतर्कता बढाएको छ। जोखिममा रहेका गाउँमा सूचना प्रवाह गर्नुका साथै उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ।

उद्धार टोली परिचालन

एनडीआरएफका उपमहानिरीक्षक एसएस सूदनका अनुसार आन्ध्र प्रदेशमा १६ वटा उद्धार टोली परिचालन गरिएका छन्।

अन्य प्रभावित राज्यमा थप ३९ टोली खटाइएको छ भने आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी थप टोलीलाई तयारी अवस्थामा राखिएको छ।

चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा रूख ढलेका छन् र विद्युत् खम्बामा क्षति पुगेको छ। राज्यको विपद् प्रतिकार्य बल (एसडीआरएफ) र प्रहरीले अवरुद्ध अवस्था सामान्य बनाउन तथा प्रभावित नागरिकलाई सहयोग गर्न काम गरिरहेका छन्।

मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा ओडिशा, तटीय आन्ध्र प्रदेश र यानममा २१० देखि ३०० मिलिमिटरसम्म वर्षा रेकर्ड गरिएको छ।

चक्रवात आन्ध्र प्रदेश पार गरिसके पनि प्रभावित क्षेत्रमा वर्षा जारी रहेको र यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।