बालेनको उदय भारतीय युवालाई सन्देश

बालेनको उदय भारतीय युवालाई सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालले २१औँ शताब्दीको तेस्रो दशकमा प्रवेश गर्दा यस्तो लोकतन्त्रको बोझ बोकेको थियो, जसले परिवर्तनको वाचा त गर्‍यो, तर परिणाम भने पुरानै दोहोरियो ।

१९९० मा बहुदलीय व्यवस्था पुनस्र्थापित भएदेखि र २००८ मा राजतन्त्र अन्त्य भएदेखि सत्ता उही परिचित नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालबीच घुमिरह्यो ।

सिंहदरबारमा सरकार फेरिँदै गयो, तर उल्लेखनीय उपलब्धि देखिएन । भ्रष्टाचार प्रणालीगत बन्यो, युवामा बेरोजगारी बढ्यो, र लाखौँ युवा खाडी तथा दक्षिण–पूर्व एसियातर्फ पलायन भए । २०२५ सम्म आइपुग्दा विप्रेषणले कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब एक चौथाइ हिस्सा ओगटेको थियो, जुन राज्यले आफ्नो आर्थिक अस्तित्व नै बाहिर निर्भर बनाएको संकेत थियो ।

यही पृष्ठभूमिमा बालेन्द्र शाहको उदय भयो, जसले देशकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा नेपाली युवाको आकांक्षालाई प्रतिनिधित्व गरेका छन् । बालेनको उदय भारतजस्तो छिमेकी देशका युवाले पनि बेवास्ता गर्न नसकिने एउटा असाधारण घटना हो ।

नयाँ उम्मेदवारीका निर्माता

राजनीतिमा आउनु अघि बालेन एक र्‍यापरका रूपमा चिनिन्थे, जसले भ्रष्टाचार, असमानता र स्थिरताहीनतालाई खुलेर प्रस्तुत गर्थे र नेपाली युवाका लागि एक प्रामाणिक आवाज बने ।

उनको राजनीतिक प्रवेशले सबै परम्परा तोड्यो । उनले २०२२मा काठमाण्डुको मेयरमा चुनाव स्वतन्त्र उम्मेदवारका रूपमा लडे–न पार्टी, न संरक्षण । सामाजिक सञ्जाल प्रयोग गर्दै सानो टोली र स्पष्ट घोषणापत्रका साथ चुनाव लडे र जिते । यो केवल जित होइन, राजनीतिक भूकम्प पनि थियो ।

शासनको नयाँ भाषा

२०२२ देखि २०२६ सम्म काठमाडौँ महानगरपालिकाका मेयरका रूपमा बिताएका चार वर्ष बालेनको राजनीतिक परियोजनाको बौद्धिक र नैतिक केन्द्र बने ।

उनको प्रशासन एउटा सरल तर क्रान्तिकारी अवधारणामा आधारित थियो–शासन मूलतः एउटा ‘इन्जिनियरिङ समस्या’ हो । समस्या पहिचान गर्ने, यसको संरचनात्मक कारण पत्ता लगाउने, समाधान डिजाइन गर्ने, पारदर्शी रूपमा लागू गर्ने र परिणामको आधारमा जवाफदेही हुने ।

उनले डिजिटल भवन अनुमति प्रणाली लागू गरे, जसले दशकौँदेखि चलेको भ्रष्टाचारको संरचनालाई तोड्यो । नगरसभा बैठक प्रत्यक्ष प्रसारण गरेर अपारदर्शितालाई चुनौती दिए । फोहोर व्यवस्थापन, ट्राफिक प्रणाली र सार्वजनिक पूर्वाधारमा लगानी गरे, जसलाई प्रायः राजनीतिक रूपमा आकर्षक नठानिने काम मानिन्छ ।

उनले शक्तिशाली समूहहरूले अतिक्रमण गरेका अवैध संरचनासमेत भत्काए । बुल्डोजर केवल मेसिन थिएन–यो सन्देश थियो कि कानुन सबैका लागि समान छ र मेयरको पद बिक्रीका लागि होइन ।

केही अवस्थामा मानव अधिकारसम्बन्धी चिन्ता उठे, र ती चिन्ताहरू गम्भीर छन् । तर यी अपूर्णताका कारण बालेनले देखाएको दिशालाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन । उनले देखाए कि नेपाली शासनको मूल धारणा सत्ता धारण गर्नेहरूलाई धनी बनाउनका लागि होइन, यसलाई अस्वीकार गर्नुपर्छ ।

जेन जी आन्दोलन

नेपालको जेनजी क्रान्तिका लागि संरचनात्मक आधार वर्षौँदेखि तयार हुँदै आएको थियो । यसको विस्फोट सेप्टेम्बर २०२५ मा भयो ।

देशभर युवाहरू सडकमा उत्रिए–भ्रष्टाचार अन्त्य, नातावाद अन्त्य र पुराना नेताहरूको अन्त्यको मागसहित । यस आन्दोलनमा ७७ जनाको ज्यान गयो ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो, जसले ५ महिनाभित्र चुनावको तयारी गर्‍यो ।

बालेनले आन्दोलनलाई खुलेर समर्थन गरे । तर सत्ता लिनको तत्काल प्रस्ताव अस्वीकार गरे । किनभने उनले बुझे कि वैधता अन्ततः जनमतबाट आउँछ ।

ऐतिहासिक चुनाव

डिसेम्बर २०२५ मा बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए, जुन रवि लामिछानेद्वारा स्थापना गरिएको हो । ५ मार्च २०२६ मा भएको चुनावमा रवि–बालेनको पार्टीले कुल २७५ मध्ये १८२ सिट जित हासिल गरे ।

निर्वाचनमा पुराना र स्थावित दलहरू नेपाली कांग्रेस, एमाले, नेकपा कमजोर बने । बालेनले झापा–५ बाट चुनाव लडे र ओलीलाई ४९,६१४ मतले हराए । अन्ततः ३५ वर्षको उमेरमा उनी विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री बने ।

पहिलो १०० दिन : शासनको घोषणापत्र

२७ मार्च २०२६ मा शपथ लिएपछि बालेनले तीव्र गतिमा काम सुरु गरे र १०० बुँदे सुधार योजना सार्वजनिक गरे । उनले भीआइपी संस्कृति अन्त्य गर्दै ५ सदस्यीय भ्रष्टाचार छानबिन आयोग गठन गरे । जसले १९९० पछिको अवैध सम्पत्ति अनुसन्धान गर्नेछ ।

सेप्टेम्बर आन्दोलनका पीडितका लागि सरकारले कार्की आयोगको सिफारिस अनुसार कदम चाल्यो, जसमा ओली सहित उच्च अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी भयो ।

सुरुवातका दिनमा बालेन फटाफट काम सुरु गरेपनि चुनौतीहरू अझै बाँकी छन् । कानुनी लडाइँ, प्रशासनिक जडता र राजनीतिक प्रतिरोध उनको मुख्य चुनौती हो ।

भारतका युवाका लागि सन्देश

भारतमा ३५ वर्ष मुनिका ६० करोडभन्दा बढी जनसंख्या छ । तर नेतृत्व संरचना अझै पुरानो छ–वंशवाद, महँगो चुनाव र जातीय संरचनात्मक राजनीतिले युवालाई बाहिर राख्छ ।

नेपालले देखाएको छ कि स्थानीय तहबाट विश्वसनीयता निर्माण गर्न सकिन्छ र डिजिटल माध्यम शक्तिशाली हुन्छ । पुरानो राजनीतिक संरचना तोड्न सकिने उदाहरण नेपालले दिएको छ ।

नेपालको २०२५ आन्दोलन चेतावनी पनि हो र सम्भावना पनि । जब एउटा पुस्ताको धैर्य सकिन्छ, परिवर्तन छिटो हुन्छ । ३ करोड जनसंख्या भएको नेपालले देखाएको छ कि दृढ इच्छाशक्ति भएको पुस्ताले राजनीति कति छिटो बदल्न सक्छ ।

भारतजस्तो ठूलो देशले भने यस्तो परिवर्तन गर्न अझै हिचकिचाइरहेको देखिन्छ । हिमालय अब केवल सीमा होइन, यो एउटा ऐना हो । तर प्रश्न अहिले पनि छ–के भारतका युवाले यस ऐनामा हेरेर त्यसअनुसार कदम चाल्नेछन् ?

तेलतुम्बडे भारतीय लेखक हुन् ।