संकटोन्मुख कम्युनिष्ट आन्दोलनमा पुनर्जीवन सम्भव छ ?

संकटोन्मुख कम्युनिष्ट आन्दोलनमा पुनर्जीवन सम्भव छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस बुधबार मनाइयो । एमालेले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय, नेकपाले पेरिसडाँडास्थित मुख्यालयमा कार्यक्रम आयोजना गरे ।

जहानियाँ राणा शासनको उत्तरार्द्धतिर ९ वैशाख २००६ सालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ मिलेर गठन गरेको कम्युनिष्ट पार्टी ७३ वर्षको यात्रा पार गर्दा विभिन्न टुटफुट र विभाजनले विभिन्न भंगालामा छरिएको छ । कहिले हिंसात्मक र कहिले शान्तिपूर्ण बाटो समातेर आएका कम्युनिष्टहरूले पटक–पटक सत्ताको नेतृत्व गर्ने मौका पाए । तर सत्तामा रहँदा उनीहरूले जुन वर्गको सेवा गर्नुपर्थ्यो, त्यो नगरी अर्कै वर्गसँग हिमचिम बढाएको आरोप लाग्दै आएको छ ।

सिद्धान्त, विचार, व्यवहार, संस्कृति आदिको कसीमा उनीहरू कमजोर देखिए । फलत: गत २१ फागुनको निर्वाचनमा कम्युनिष्ट पार्टीहरू नराम्ररी खुम्चिए । चुनावी परिणामसँगै कम्युनिष्ट आन्दोलन समाप्तिको दिशामा पुगेको विश्लेषणहरूबिच प्रतिकूलता चिर्न भन्दै २ ठूला कम्युनिष्ट घटक एमाले र नेकपाबिच एकीकरणको चर्चा सुरु भएको छ ।

कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ पारेर हामीले वरिष्ठ वाम विश्लेषक झलक सुवेदी, साढे ३ दशकभन्दा बढी पत्रकारितामा बिताएका वरिष्ठ पत्रकार/सम्पादक तीर्थ कोइराला र एमालेका अध्ययनशील नेता विष्णु रिजालसँग कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुको कारण र भविष्यको बाटोबारे कुराकानी गरेका छौं ।

कम्युनिष्ट र अरुमा फरक पुष्टि गर्न सक्नुपर्छ : झलक सुवेदी, विश्लेषक

अहिले नेपालका मूलधारका कम्युनिष्ट भन्ने दलहरू विचारधारात्मक रुपले ‘लिबरल’ हुन् । उनीहरू सिस्टमभित्रै बसेर प्रतिस्पर्धामार्फत समाजवादतिर जान सकिन्छ भन्ने मान्यताद्वारा अभिप्रेरित भएर चुनावमा सहभागी भएका हुन् । २०४७ र २०७२ सालको संविधान निर्माणमा पनि कम्युनिष्ट आफैं संलग्न छन् । २०७२ सालको संविधान निर्माणको पृष्ठभूमि त कम्युनिष्ट पार्टीले नै तयार पारेको हो । लिबरल सिस्टम मानेरै उनीहरूले यो काम गरेका हुन् । तर समाजवाद ल्याउन भनेर सरकारमा गएका कम्युनिष्टहरूले सत्ताभोगसँगै बुर्जुवा र आफूले प्रतिक्रियावादीको संज्ञा दिँदै आएको वर्गसँग प्रतिस्पर्धा गर्न थाले ।  सरकारमा बसेर राज्यको दोहन गर्ने कुरामा पनि अरुभन्दा भिन्न देखिने प्रयास गर्न सकेनन् । देशमा कम्युनिष्ट पार्टीको सरकार भएकाले यो परिवर्तन भयो भन्ने देखिने/बुझिने खालको रूपान्तरण आएन । सत्ताका निम्ति जे पनि गर्ने प्रवृत्ति झाँगिएर गयो । एउटा चुनावदेखि अर्को चुनाव र सत्तादेखि सत्ता मात्र कम्युनिष्ट पार्टीका प्राथमिकतामा परे ।

एउटा चुनाव सकिने बित्तिकै अर्को चुनावको तयारीमा जुट्ने नियतिबाट उनीहरू बाहिर आउनै सकेनन् । सरकारमा बस्दा पनि जनताका अझ आफ्नो धरातलका जनता, भूइँ मान्छेका समस्या हल गर्न संस्थागत प्रयास गरेको देखिएन । कम्युनिष्ट पार्टीको सरकारले वामपन्थी, मार्क्सवादी र जनप्रेमी सरकारका रूपमा कामै गरेनन् । जसले आममानिसमा अरु पार्टी र कम्युनिष्ट पार्टी यो कारणले फरक हुन् भन्ने भएन । बरु झण्डा जस्तो रंगको बोके पनि, नाराजस्तो लगाए पनि सबै उस्तै हुन् भन्ने बुझाइमा जनता पुगे ।

कम्युनिष्ट पार्टीहरूले गुमेको विश्वास फेरि आर्जन गर्ने हो भने हामीलाई जनताले किन विश्वास गर्न छाडे भन्ने विषयमा गहिरो अध्ययन गर्न जरुरी छ । कम्युनिष्ट र अरुमा यो–यो फरक हो भनेर पुष्टि गर्न सक्नुपर्छ । जनतासँग विश्वासको सम्बन्ध पुन:स्थापित गर्न विचार, व्यवहार, भनाइ र गराइमा एकरूपता देखिनुपर्छ । कम्युनिष्ट पार्टीहरूको पुनर्गठन गर्ने हो भने हिजो सरकार चलाउँदा असफल भएका र जनताले मन नपराएका अनुहारहरू बदल्नुपर्छ । नयाँ अनुहारहरूले नेतृत्व गरेर पुनर्गठन गर्नुपर्छ । समाजमा वर्ग अन्तरविरोध बढ्दै जाँदा मेरो स्वार्थको रक्षा कम्युनिष्ट पार्टीले गर्छ भन्ने विश्वास नजगाई जनताले समर्थन गर्ने देखिँदैन । वस्तुगत अवस्था ठीकै भए पनि कम्युनिष्टहरूको आत्मगत अवस्था धेरै नै कमजोर भएको छ । नयाँ पुस्ताले अब हामी जनताले विश्वास गर्ने शक्ति बनाउँछौं भनेर अगाडि आउने आँट गर्दा अझै कम्युनिष्ट आन्दोलनको भविष्य सकिएको छैन । एकपटक जनताले पत्याउन पनि सक्छन् । तर त्यसका लागि विगतमा आफूले जुन विचारलाई कम्युनिष्ट विचार भनेर आएको हो, त्यहीअनुसारको व्यवहार भने जरुरी छ ।

नेतृत्व परिवर्तन नगरी हुने एकताको कुनै अर्थ छैन : तीर्थ कोइराला, वरिष्ठ पत्रकार

२००७ साल हाराहारीमा नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो । जतिबेला नेपालमा कम्युनिष्टको जग बस्यो, त्यतिबेला चीन उदीयमान शक्तिका रूपमा स्थापित हुँदै थियो । उत्तर कोरिया संसारको राजनीतिलाई प्रभावित पार्न सक्ने शक्तिका रूपमा थियो । शोभियत संघको प्रभावले संसार हल्लाएको थियो । त्यसैको प्रभावले नेपालमा कम्युनिष्ट पार्टी जन्मियो । त्यतिखेरको भाव समाजवादी भए पनि समयक्रममा कम्युनिष्ट पार्टीहरू सिद्धान्त, विचार र दृष्टिकोणले कम्युनिष्ट रहेनन् । कम्युनिष्ट चरित्र भन्ने पनि कथाजस्तै भयो । धर्म नमान्ने परम्परा नमान्नेलाई मात्र कम्युनिष्ट हुन्छ भन्ने स्थापित भयो । आफ्नो धर्म, परम्परा, संस्कृति पनि छाड्न सकेनन् । समाजमा असुहाउँदा मान्छेका रूपमा मात्र रहे । कम्युनिष्टहरू कुरा एउटा, काम अर्को गर्छन् भन्ने रूपमा परिभाषित हुँदै गए । त्यतिबेला समाजवादी अर्थतन्त्रको र समाजवादको कुरा हुन्थ्यो । अहिले संसार बजार अर्थतन्त्रले खाइरहेका बेला समाजवादी संविधान ल्याए । स्वास्थ्यमा, शिक्षामा केहीमा पनि समाजवादी रूपान्तरण हुँदैन । साँच्चै भन्ने हो भने नेपालमा कम्युनिष्टको लहर चाहिँ आयो । अनेक तरहले देखिएकाले एकरूपता पनि भएन । सिद्धान्तअनुसार चलेको पनि देखिएन । नेपालको कम्युनिष्ट आन्दोलनको विकृति पक्ष भनेको चाहिँ यो वर्गमा आधारित राजनीति हो ।

जेभन्दा भोट बढी आउँछ, त्यही भनिदिने चरित्र कम्युनिष्ट पार्टीमा छ । जातको ढ्याँग्रो बजाएर हिँड्ने पनि कम्युनिष्ट, धर्मको नाममा मन्दिरमा घण्टी झुण्ड्याउने पनि कम्युनिष्ट भए ।

सिद्धान्त, विचार, कार्यदिशा र व्यवहारमा कोही पनि कम्युनिष्ट छैन । कि त कम्युनिष्टको पुन: परिभाषित गर्नुपर्‍यो । कि त हामी कम्युनिष्ट होइनौं, कम्युनिष्ट राम्रो लागेर भनेका हौं भन्न सक्नुपर्छ । कम्युनिष्टहरू कोही मार्क्सवादी भन्नुहुन्छ, कोही त माओवादी नै भन्नुहुन्छ । सरकारमा वा सरकार बाहिर हुँदा उहाँहरूले आफूलाई मार्क्सवादी–लेनिनवादी र माओवादी भनेर प्रमाणित गर्न सक्नुभएन । तुलनात्मक रूपमा एमालेको ९ महिने शासनकाल भने फरक थियो ।

नेपालमा कम्युनिष्टहरू पटक–पटक सरकारमा रहे । बहुमतको सरकार पनि चलाए । कम्युनिष्ट पार्टीहरू मिलेर पनि सरकार चलाए । गैरकम्युनिष्टसँगको सरकारमा पनि रहे । कम्युनिष्ट भनेको छ, विचारमा स्पष्टता छैन । सांगठनिक छलफल पनि छैन । व्यवहार र चरित्र पनि छैन । हातमा ढोगाउँदै हिँड्ने कम्युनिष्ट पार्टीका नेता छन् । हाम्रो देशको कम्युनिष्ट पार्टीको अवस्था दिग्भ्रमित छ । नेपालमा कम्युनिष्टमा लाग्ने धेरैजसो मध्यम वर्गका मानिस छन् । ती मानिसमा देशभक्तिको भावना छ । उनीहरू राष्ट्र जोगाउनुपर्छ भनेर लागेका हुन् । तर जो कम्युनिष्ट पार्टीहरू छन्, उनीहरू राष्ट्र जोगाउने कुरा पनि कम्युनिष्टले गर्न छाडेका छन् । अहिलेको अवस्था के छ भने राष्ट्र पनि कमजोर, कम्युनिष्ट पनि कमजोर । यो हुनुमा जिम्मेवार मुख्यत: कम्युनिष्ट पार्टीकै नेताहरू छन् ।

कम्युनिष्टका नाममा कार्यकर्ता बटुल्ने, पैसा बटुल्ने र सत्तामा पुगेर राज्यको स्रोत दोहन गर्ने धन्दा मात्रै भयो ।

यसको अर्थ हिजोको जस्तो परम्परागत कम्युनिष्ट भएर पनि अब टिक्न गाह्रो छ । विकासमा चाहिँ र्‍याडिकल विकासवादी, प्रजातान्त्रिक र देशभक्त पार्टीका रूपमा आफूलाई उभ्याउन सके भने कम्युनिष्ट पार्टी रहन सक्छन् । यही अवस्थाको कम्युनिष्ट पार्टी ररिरहन असम्भवजस्तै छ ।

अहिले वाम एकता गर्ने रे भनेको सुनिन्छ । तर पुन: परिभाषित नगरी र नेतृत्व परिवर्तन नगरी हुने एकताको कुनै अर्थ छैन ।

जतिबेला नेपालमा कम्युनिष्ट पार्टी जन्मियो त्यतिबेला संसाभर समाजवादी लहर थियो । राजा महेन्द्रले पनि भूमिसुधारको नीति ल्याएका हुन् ।  महेन्द्रले ल्याएको पञ्चायतका कतिपय कार्यक्रममा सामाजिक चरित्र थियो । कम्युनिष्टहरूकै प्रभावका कारण महेन्द्र समाजवादी कार्यक्रम ल्याउन तयार भएका थिए । त्यो अवस्था पनि अहिले छैन । चीन संसारको सबैभन्दा ठूलो कम्युनिष्ट देश हो । चीन समाजवादी नीतिमा छैन । उसलाई पनि बजार अर्थतन्त्रले गाइड गरेको छ ।

विश्व राजनीतिको ट्रेन्ड बदलेर नेतृत्व लिन सक्ने अवस्था पनि अहिले होइन । कम्युनिष्टहरू फैलिनका लागि केही आधारभूत अवस्थाहरूले साथ दिएको हुनुपर्छ । मार्क्स, लेनिन, चीनको आन्दोलनको समयको वर्ग अहिले छैन । नेपालमा कोही ठूला जमिन्दार छैनन् । ठूला पुँजीपति छैनन् । सर्वहारा वर्गको पंक्ति पनि फरक खालको छ । एक प्रकारले भन्ने हो भने सर्वहारा वर्ग नै छैन । कम्युनिष्ट आन्दोलन रहने अर्को आधार पुँजीपति, मदजुर र किसान वर्ग हो । अहिले ट्रेण्ड परिवर्तन भएको छ । पहिला वर्ग विश्लेषणको कुरा गरिन्थ्यो । सर्वहारा, निम्न पुँजीपति, पुँजीपति र सामन्ती वर्ग भनिन्थ्यो । किसानले जग्गा घडेरीमा बेचिसके । सहरिया वर्ग पनि छैन । नेपालका कम्युनिष्ट पार्टीका नेताहरू नै सबैभन्दा ठूला पुँजीपति भइसके । उनीहरू आफैंले अरुलाई पहिला सामन्तका रूपमा परिभाषित गर्थे । अहिले त्यही ठाउँमा उनीहरू नै पुगेका छन् ।

कम्युनिष्टहरू टिक्न सक्ने भनेको राष्ट्रभक्ति र समातामूलक समाजको नारामा मात्र हो । तर परम्परागत कम्युनिष्ट पार्टीकै रूपमा अगाडि आउन धेरै गाह्रो छ ।

वर्गीय दृष्टिकोण नभएका, कम्युनिष्ट चरित्र नभएका, देशप्रतिको इमान्दारितामा प्रश्नैप्रश्न भएका र सांस्कृतिक रूपमा रूपान्तरण हुनै नसकेका मानिसले कम्युनिष्ट पार्टीको नेतृत्व गर्छु भन्नु बेकारको कुरा हो । मुखले कम्युनिष्टको अन्तर्राष्ट्रिय जाति हुन्छ भन्ने तर व्यवहारमा जातका कुरा गर्ने नेताहरूले नै कम्युनिष्टको आधार समाप्त पारेका हुन् ।

समयमै बुद्धि पुर्‍याउन सकेनौं भने हामी कहिल्यै उठ्न सक्ने छैनौं : विष्णु रिजाल, नेता, नेकपा एमाले

नेपालको कम्युनिष्ट आन्दोलन मूल रूपमा ३ वटा पिल्लरमा उभिएको छ । पहिलो पिलर लोकतन्त्र हो । राणा शासन अन्त्यको मागसँगै २००६ सालमा कम्युनिष्ट पार्टीको विधिवत स्थापना हुनु यो लोकतन्त्रको पक्ष हो । यसको दोस्रो पिलर राष्ट्रियता हो । १९५० को सन्धि भनौं वा नेपालमाथिको अन्य थिचोमिथको पृष्ठभूमिमा यो अगाडि आएको हो । तेस्रो पिलर समानतामा आधारित समाज, साधनस्रोतको समुचित र समानुपातिक वितरण, सामाजिक न्याय हो ।

विश्वमै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र सोभियत संघलगायत कम्युनिष्ट सत्ता ढल्दा पनि नेपालका कम्युनिष्टहरू आफ्नै बलबुताले यहाँसम्म आएका हुन् । विश्वको परिप्रेक्षमा विचारधारालाई नेपालको आफ्नो सन्दर्भअनुसार अगाडि लैजान सकेकाले कम्युनिष्ट आन्दोलनको आजसम्मको यात्रा कायम रहन सकेको हो ।

नेपालका कम्युनिष्टमाथि जनविश्वास रहनुको मुख्य कारण पनि त्यही हो । पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीहरूमा विचारधाले काम गरेन । कम्युनिष्ट पार्टीहरू हदैसम्मका असैद्धान्तिक भए । कम्युनिष्ट हुनका लागि अर्थनीति, विदेश नीति र सामाजिक न्यायको नीतिमा स्पष्टता हुनुपर्ने हो । तर त्यो भएन । नेपालका कम्युनिष्टहरूमा एउटा रोग देखियो, त्यो भनेको आपसमा कटाक्ष गर्ने अनि मुख्य प्रतिस्पर्धी काँग्रेसको शरणमा पर्ने । माओवादीलाई तह लगाउन एमाले काँग्रेको शरणमा र एमालाई तह लगाउन माओवादी काँग्रेसको शरणमा पुगेको उदाहरण धेरै छन् । हामीले काँग्रेससहित गैरकम्युनिष्ट पार्टीसँग आफ्नो फरकपन देखाउनै सकेनौं ।

अर्को महत्वपूर्ण कुरा राष्ट्रिय राजनीतिमा अहिले विचार गौण र एजेण्डा हाबी भएको छ । विचारधाराको अन्त्यका नाममा कम्युनिष्टका नाममा श्रद्धाञ्जलि विगतमै लेखिएका थिए । त्यसको बाबजुद नेपालमा कम्युनिष्ट आन्दोलन अगाडि बढैकै थियो । अब भने विचारधाराले काम गरेन । विचारपक्ष कमजोर र एजेण्डाको पक्ष हाबी भयो ।

पार्टी र सत्तामा सीमित मानिसले हालिमुहाली गरे राजनीतिमा यो हुनु हुँदैन । सेवा प्रवाहमा ढिला सुस्ती भयो । भ्रष्टाचार भयोजस्ता विषय नागरिक स्तरबाटै उठे । यो सिद्धान्त होइन, एजेण्डा हो । यो एजेण्डा उठाउने आममानिस र युवाहरूको भावना हामीले बुझ्न सकेनौं । हामी कम्युनिष्टहरू तत्कालको कामलाई कार्यनीति र भविष्यको कामलाई रणनीति भनेर अर्थ्याउने गर्छौं । रणनीति ठीकै भए पनि हाम्रो कार्यनीति समय सान्दर्भिक भएन । नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक प्रक्रियालाई अनुशरण गर्ने काम हुन सकेन ।

आफू आजीवन नेतृत्वमा रहिरहनुपर्ने मनोविज्ञानबाट नेतृत्व ग्रसित भयो । पार्टी फुटाएर भए पनि वा आफूसँग असहमत पक्षलाई पार्टीबाट निकालेर भए पनि नेतृत्वमा टाँसिरहनुपर्ने घातक प्रवृत्तिको शिकार कम्युनिष्ट पार्टी भए । भलै पार्टीको साइज जत्रो सुकै होस्, नेतृत्वमा छाड्दिन भन्ने रोगले नेताहरूमा देखियो । प्रत्यक्षतर्फ १२१ सिट जितेको पार्टीको अध्यक्ष पनि प्रचण्ड नै । ७ सिट जितेको पार्टीको अध्यक्ष पनि प्रचण्ड नै । ८१ सिट जित्दा पनि पार्टी अध्यक्ष केपी ओली, ९ सिट जितेको पार्टीको अध्यक्ष पनि ओली नै हुनुहुन्छ ।

पछिल्लो चुनावको परिणामलाई विश्लेषण गर्ने क्रममा धेरैजसो नेताहरूले अस्थायी धक्का हो । हामी फेरि धुलो/खरानी टक्टक्याएर उठ्छौं भनेको सुन्न पाइन्छ । एउटै चुनावले रानजीतिको फैसला गर्दैन भन्नेजस्ता नेताहरूको तर्कका साहरा म लिन चाहन्न । हो हामी नराम्ररी पछारिएकै हौं । तर समयमै बुद्धि पुर्‍याउन सकेनौं भने हामी कहिल्यै उठ्न सक्ने छैनौं । कम्युनिष्ट कुनै बेला आधा धर्ती, आधा आकाश र आधा अन्तरिक्षमा फैलिएको शक्ति थियो । अहिले यो इतिहासकै सबैभन्दा रक्षात्मक शक्तिका रूपमा छ । हामीले अहम्को भावना त्याग्न सक्यौं भने फेरि उठ्न सक्छौं ।

एजेण्डाहरू र विचारको औचित्य अझै सकिएको छैन । कम्युनिष्ट पार्टीको संगठनको सञ्जाल अझै पनि देशव्यापी छ । हामीप्रतिको आक्रोश र रिसलाई मानिसहरूले निर्वाचनमा जसरी व्यक्त गरेका छन् । फिनिक्स पंक्षी जलाएर खरानी बनाएपछि पनि उठ्छ भनिन्छ । त्यसरी नै हामी खरानीबाट उठ्न सक्छौं । तर त्यसका लागि बुद्धि, विवेक र समय चिन्ने क्षमता देखाउन भने सक्नुपर्छ ।