काठमाण्डु- सरकारले उपत्यकाका तीनै जिल्ला काठमाण्डु , ललितपुर र भक्तपुरका विभिन्न नदी तथा खोला किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउने भएपछि त्यसको समर्थन र विरोधका आवाज सुनिन थालेका छन् ।
सामाजिक सञ्जालमा सरकारको कदमको पक्ष र विपक्षमा बहस भइरहेको छ । यहीबीच सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछोनले सुकुम्बासी बस्तीमा डोजर चले आफू छाती थाप्न आउने भन्दै दिएको अभिव्यक्ति भाइरल बनेको छ ।
गत २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपा बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा अघि सारेर चुनावमा होमिएको थियो । काठमाडौं महानगरपालिकाको मेयर हुँदा सुकुम्बासी बस्तीमा डोजर चलाएका बालेन्द्र प्रधानमन्त्री भएपछि उक्त अभियानलाई निरन्तरता दिन्छन् भन्ने विपक्षीको आरोपको खण्डन गर्ने क्रममा लामिछानेले त्यस्तो अभिव्यक्ति दिएका थिए । लामिछानेलाई सुकुम्बासी अभियन्ता, विपक्षी दल र सरकारप्रपति आलोचनात्मक दृष्टिकोण राख्ने सञ्जालकर्ताले चुनावअघि गरेको बाचा सम्झाइरहेका छन् ।
यही विषयमा हामीले रास्वपा प्रवक्ता मनिष झालाई प्रश्न सोधेका छौं । ‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने भएको छ । अब तपाईंको सभापति छाती थाप्न जाने कि नजाने ?’
जवाफमा झाले लामिछानेको अभिव्यक्तिको अपब्याख्या भइरहेको तर्क गरे । लामिछानेले कुनै सन्दर्भ र स्थानका बारेमा बोलेको विषयलाई काठमाण्डुका सुकुम्बासीका बारेमा बोलेको भन्नु गलत हुने उनको भनाइ थियो । ‘हाम्रो सभापतिको भनाइमा द्विविधा हुनुपर्ने कारण म देख्दिन । उहाँले काठमाण्डु वा अर्को कुनै स्थानको सुकुम्बासीका हकमा बोल्नुभएको हो भन्ने त्यो भिडियो क्लिपमा स्पष्ट छैन । चितवन वा जनकपुरको सुकुम्बासीका बारेमा बोलेको पनि हुन सक्छ’, झाले काठमाण्डुपाटीसँग भने, ‘काठमाण्डुका अधिकांश सुकुम्बासी वास्तविक छैनन् । हामीलाई गाडी पार्किङको समस्या भयो भन्ने गुनासो लिएर सरकारका निकायमा पार्किङ स्थलको माग गर्न आउने पनि सुकुम्बासी छन् ।’
झाले सरकारले १५ वर्षअघि निर्माण गरिदिएको अपार्टमेन्टमा सुकुम्बासीले बस्न इन्कार गर्नुको कारणबारे पनि प्रश्न गरिनुपर्ने बताए । ‘सरकारले करोडौं खर्चेर बनाएको घरमा गएर नबस्ने सुमुम्बासी सक्कली नभएको आरोप उनले लगाए । ‘किन सरकारले व्यवस्था गरिदिएको ठाउँमा नबस्ने त भन्दा जवाफ आउँछ, ‘मेरो डाक्टर छोरीलाई अस्पताल जान टाढा हुन्छ’ झाले भने । सरकारको अभियानको विरोध गर्नेहरुले सुकुम्बासीका नाममा सरकारी जमिन हडप्नेहरुको नाम सार्वजनिक भएको भन्दै ती नाम पढ्न सुझाए ।
सुकुम्बासी समस्या समाधान गर्नुपर्छ भन्नेमा आफ्नो दल र सरकार स्पष्ट भए पनि अमूल्य सरकारी जमिन ओगटेर बस्नेप्रति सहानुभूति आवश्यक नरहेको बताए । ‘जसको आश्रइ छैन, त्यो सुकुम्बासी हो । त्यस्तो परिवारको सरकारले व्यवस्थापन गर्ला’, झाले भने, ‘तर, गाडी पार्किङको समस्या भोगिरहेका र डाक्टर छोरीलाई अस्पताल टाढा हुन्छ भनेर सुकुम्बासी बनिरहेकाहरुलाई छुन दिन सकिँदैन ।’
सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले पार्टीसँग समन्वय गरेको छ कि छैन भन्ने जिज्ञाशामा झाले सरकारका सबै काममा पार्टीसँग छलफल गरेर साध्य नहुने तर्क गरे । ‘सरकारले आफ्नो काम गरिरहेको छ । कतिपय विषयमा सरकारले पार्टीसँग सरकारले परामर्श गर्छ र गर्नुपर्छ’, झाले भने, ‘तर, सबै कुरामा पार्टीलाई सोधेर सरकारले काम गर्दैन ।’




प्रतिक्रिया