काठमाण्डु– सरकारले अर्थ मन्त्रालयका ५ सहित २५ सह–सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सहसचिवको सरुवा गरेको हो ।
अर्थ मन्त्रालयका सहसचिवहरु महेश भट्टराई, सेवन्तक पोखरेल, महेश बराल, मदन दाहाल र सुशील अर्यालको सरुवा भएको हो । सरुवा भएकामध्ये भट्टराई र पोखरेल अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट वक्तव्य लेखनका लागि गठन गरेको समितिका सदस्यसमेत हुन् ।
भट्टराई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख, पोखरल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख, बराल सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख, दाहाल आन्तरिक राजस्व विभागका महानिर्देशक र महालेखा परीक्षक कार्यालयका सह–महालेखा नियन्त्रकका रुपमा कार्यरत थिए ।
भट्टराईको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरेल र बराल मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, दाहाल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्यालको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा सरुवा गरिएको हो ।
सरुवा भएका अर्थ मन्त्रालयका सबै सहसचिव जेनजी आन्दोलनबाट विस्थापित भएको केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेलको ‘सेट’ हुन् । जेनजी आन्दोलनपछि गठित चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले उनीहरुलाई पुरानै जिम्मेवारीमा यथावत राखेका थिए ।
श्रोतका अनुसार सरुवा भएकामध्ये बरालसहित केही सह–सचिवको कनेक्सन सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग देखिएको छ ।




प्रतिक्रिया