सुुकुम्बासी बस्ती हटाउने बालेनको अभियानमा सुनिता डंगोलको साथ

सुुकुम्बासी बस्ती हटाउने बालेनको अभियानमा सुनिता डंगोलको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय राजधानी काठमाण्डु उपत्यकाका नदी किनारामा रहेका सुकुम्बासी बस्ती खाली गराउने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभियानमा काठमाण्डु महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले साथ दिएकी छन् ।

डंगोलको निर्देशनमा महानगर प्रहरीले डोजर चलाइनुअघि नै सुकुम्बासी बस्ती खाली गर्न चेतावनी दिँदै माइकिङ गरिरहेको छ ।

काठमाण्डुका तत्कालीन मेयर शाह पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि उपप्रमुख डंगोलले महानगर हाँकिरहेकी छन् । ‘जबरजस्ती हडपिएको सार्वजनिक जमिन खाली गराउने प्रधानमन्त्रीको अभियानमा कार्यबाहक प्रमुखज्यूको पूर्ण समर्थन छ,’ महानगरका एक अधिकारीले भने, ‘जब महानगर प्रहरी नै बस्ती खाली गरिदिनुस् भनेर माइकिङ गरिरहेको छ भने उहाँको सहयोग छ वा छैन भन्ने प्रश्न नै रहेन नि !’

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका शाह र एमालेबाट उम्मेदवार बनेकी डंगोल मेयर–उपमेयरका रूपमा काम गर्दा खासै ट्युनिङ मिलेको थिएन । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र मेयर शाहबिच सम्बन्ध चिसिएका बेला डंगोलले शाहलक्षित ‘स्टण्टले मुलुक चल्दैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । तर गत चैत १३ गते प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएकी डंगोलले शाहलाई मन पर्ने कालो रंगको खादा लगाइदिएकी थिइन् ।

प्रधानमन्त्री शाहले गत सोमबार सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिने क्रममा शनिबार र आईतबार (सार्वजनिक बिदाको दिन) उपत्यकाका नदी किनाराबाट सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए । लगत्तै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उपमेयर डंगोलसहित महानगरका पदाधिकारीसँग भेटेर आवश्यक समन्वयका लागि आग्रह गरेका थिए । अहिले प्रहरी र महानगर प्रहरीको सहकार्यमा सुकुम्बासी बस्ती खाली गर्न माइकिङ भइरहेको छ ।