राष्ट्रपति सी छिट्टै नेपाल भ्रमणमा आउने चिनियां राजदूतको खुलासा

राष्ट्रपति सी छिट्टै नेपाल भ्रमणमा आउने चिनियां राजदूतको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यानकीलाई नेपालको लागि चिनियाँ राजदूतमा नियुक्ति भएकोमा बधाई व्यक्त गर्नुभयो ।

उक्त शिष्टाचार भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तिब्र आर्थिक बृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताउनुभयो । ‘नेपालको सामाजिक, आर्थिक विकासमा चीनले प्रदान गर्दै आएको सहयोगका लागि कृतज्ञ छौं,’ उहाँले भन्नुभयो, ‘नेपालमा आगामी मार्च हुने लगानी सम्मेलनमा पनि चीनबाट उच्च लगानीको प्रतिबद्धता आउने अपेक्षा राखेका छौं ।’

अध्यक्ष तिमिल्सिनाले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै यसबाट नेपाल र चीनबीच आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा राख्नुभयो ।  

‘दुई देशबीच रेलमार्ग विकास गर्ने योजनामा चीनको साथ र तत्परताको प्रशंसा गर्दछु,’ उहाँले भन्नुभयो, ‘केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग, आर्थिक रुपले निकै महत्वपूर्ण कोरला नाका लगायत अन्य थुप्रै नाका छिट्टै खुल्नेमा आशावादी छौं ।’

नेपालको संघीय संसदमा प्रतिनिधिसभाका सदस्य सुभाषचन्द्र नेम्बाङको संयोजकत्वमा नेपाल–चीन मैत्री समूह गठन भएको जानकारी गराउँदै उहाँले यसले दुई देशका संसदबीचको सम्बन्ध तथा अभ्यासलाई मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटका नवनियुक्त चिनियाँ राजदूत यानकीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै दुई देशबीचको दौत्य सम्बन्ध आगामी दिनमा अझ प्रगढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को उद्देश्य चीनसँगै छिमेकी राष्ट्रको विकासमा केन्द्रीत रहेको उल्लेख गर्दै नेपाल यसको महत्वपूर्ण साझेदार मुलुक भएकाले यसबाट अधिकतम फाइदा लिनुपर्नेमा जोड दिनुभयो । 

‘बीआरआई दिर्घकालिन सहकार्य हो । यसमा सहकार्य गर्दा साना र सजिला परियोजनाबाट कार्यक्रमको सुरुवात गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा रेलमार्ग, उत्तरी सिमा नाका खोल्न चीन सकारात्मक छ । यसले दुई देशबीचका आर्थिक गतिविधि बढाउँछ ।’ 

उहाँले आफ्नो कार्यकालमा चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो ।

कतारका राजदूतसँग शिष्टचार भेट   

यसैबीच सोमबार नै अध्यक्ष तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत अहमद जसमि मोहम्मद अली अल हमरले शिष्टाचार भेटघाट गर्नुभएको छ । 

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध र साझेदारीका विषयमा कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष तिमिल्सिनाले प्राकृतिक हिसाबले जटिल भएपनि कतारको तिब्र विकासबाट प्राकृतिक स्रोतको धनी देश नेपालले शिक्षा लिनुपर्ने बताउनुभयो । 

कतारमा हालै बनेको श्रम कानुनले त्यहाँ काम गर्ने लाखौं नेपाली लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले अहिलेको भिषा प्रक्रियालाई सहज बनाउनका लागि नेपालमा कतारको भिषा सेन्टर स्थापना गर्न सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

यसैगरी नेपाल भ्रमण वर्ष  सन् २०२० लाई सफल बनाउन कतारबाट उल्लेख्य पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो । साथै सन् २०२२ मा कतारमा हुने विश्वकपको पूर्वाधार निमार्णमा नेपालीले काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

भेटमा राजदूत अहमद जसमिले अहिले मजदुरका रुपमा अधिकांश नेपाली कार्यरत रहेको बताउँदै आगामी दिनमा दक्ष तथा सीप सिकेका कामदार पनि आकर्षित हुने आशा व्यक्त गर्नुभयो ।