काठमाण्डु – तत्कालीन किष्ट बैंकमा भएको बैंकिङ कसूर (घोटाला) मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी रोहितलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले उनलाई काठमाण्डुको महाराजगञ्जबाट नियन्त्रणमा लिएको हो ।
काठमाण्डुको तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४८ वर्षीय श्रेष्ठ तत्कालीन किष्ट बैंकको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत थिए । बैंकमा टेलर हेडको जिम्मेवारी सम्हालिरहेका उनले बैंककै नक्कली कागजात, नक्कली छाप, नक्कली कर्मचारी र नक्कली सुरक्षा गार्ड समेत खडा गरी बैंकलाई झुक्क्याएर ठूलो हानि–नोक्सानी पुर्याएको ब्यूरोले जनाएको छ ।
घोटाला प्रकरणमा सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाले श्रेष्ठलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सजाय तोकिएदेखि नै उनी फरार रहँदै आएका थिए ।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको ब्यूरोका प्रवक्ताले जानकारी दिए । बैंकिङ क्षेत्रमा भएका यस्ता ठगी र कीर्ते कार्यमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने अभियानअन्तर्गत ब्यूरोले श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया