काठमाण्डु – मतदातालाई भेटेर गुनासो सुन्न निर्वाचन क्षेत्र गएका ओखलढुंगाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विश्वराज पोखरेल आफ्नो स्वागतमा नआएको भन्दै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग नराम्ररी रिसाए ।
‘माननीयको स्वागतमा नआएको’ भन्दै पोखरेलले ती प्रधानाध्यापकलाई हप्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
रास्वपाभित्रैबाट उनको शैलीको चर्को विरोध भएपछि शनिबार विज्ञप्ति जारी गर्दै उनले क्षमा मागेका छन् ।
हामीले पोखरेलको हप्काई खाएका जिदीखेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरसँग घटनाबारे कुराकानी गरेका छौं । प्रस्तुत छ उनको भनाइ :
घटना के भएको हो भन्नेबारे बुझ्न सार्वजनिक भएको भिडियो काफी नै छ । हाम्रो जिल्लाबाट निर्वाचित माननीय विश्वराज पोखरेल मतदाताका गुनासो सुन्न र विकासका योजना संकलन गर्न वैशाख १ गते विद्यालयमा आउँदै हुनुहुन्छ भन्ने पूर्वजानकारी हामी गाउँबासी र विद्यालय परिवारलाई पनि थियो । उहाँ बिहानको ९ बजेभन्दा अघि नै आइसक्ने जानकारी हामीलाई दिइएको थियो । मेरो घरबाट विद्यालय पुग्न गाडीमा झण्डै १ घण्टा लाग्छ । माननीय आउने भएपछि म बिहानै तयार भएँ र मोटरसाइकलको व्यवस्था गरेर सवा साढे ७ बजेतिरै विद्यालय पुगें ।
म पुग्दा केही गाउँलेहरू पनि जम्मा भइसक्नुभएको थियो । उहाँ ९ बजे मात्र आइपुग्ने रे भन्ने खबर आयो । माननीज्यूलाई विद्यालयका समस्या लिखित रूपमै पेश गर्दा राम्रो हुन्छ भन्ने सोचें र मागपत्र टाइप गर्न थालें । तर पटक–पटक बत्ती गएकाले मलाई मागपत्र तयार गर्न समय लाग्यो ।
करिब साढे १० बजेतिर माननीयज्यू विद्यालय बाहिर आइपुग्नुभएको खबर पाएँ । टाइप गर्ने काम सकिनै लागेको थियो । उहाँभन्दा करिब २ मिनेटपछि म उहाँको छेउमा पुगें । मलाई देखेर उहाँ एकाएक आक्रोशित रूपमा झोक्किनुभयो ।
म जनताको मतले जितेको हुँ, माननीय हुँ । मेरो अपमान गरिस्, सम्मान गरिनस् । म विशिष्ट श्रेणीको कर्मचारी हुँ । आईजीपी हुनुपर्ने मान्छे अन्यायमा परेर भइनँ । अहिले पनि ५० हजार पेन्सन खान्छु । माननीयलाई विद्यालयभित्र बोलाएर सम्मान गर्नुपर्नेमा मगन्तेजस्तो व्यवहार गरिस् । बस्ने कुर्सीको समेत व्यवस्था गरिनस् । जनताले जिताएको माननीय आउँदा ढोका थुनेर बसिस् । मलाई तिमीहरूको सम्मान चाहिँदैन । शिक्षकहरू राखेर खेद प्रस्ताव पारित नगरेसम्म कुरा सुन्दिनँ र विद्यालयका लागि सहयोग गर्न सक्दिनँ, आदि इत्यादि भन्नुभयो ।
होमनाथ दाहाल सांसद भएका बेला २०५६ सालमा भारतीय दूतावासले विद्यालय १६ कोठे विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग दिएको थियो । तर निर्माण व्यवसायीको कमजोरीले अहिलेसम्म भवन अलपत्र छ ।
गाउँपालिका, जिल्ला शिक्षा समन्वय समिति, भारतीय दूतावास र जिल्ला शिक्षा समितिको बैठक बसेर तत्काल ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रियामा जाने निर्णय भएको पनि धेरै भयो । त्यससम्बन्धी कागजात सामान्य प्रशासन मन्त्रालयमा गएर रोकिएको छ । रोकिएको प्रक्रिया अगाडि बढाइदिनुस् भन्ने भन्ने माग उहाँसँग राख्नु थियो ।
ग्रामीण विद्यालयमा खेलकुद पूर्वाधारको अवस्था एकदमै कमजोर छ । खेलकुदका लागि एउटा कभर्ड हल बनाउन पाए हुन्थ्यो भन्ने हाम्रो चाहना छ र अर्को विद्यार्थीहरूका लागि अहिले सबैभन्दा धेरै चाहिने सूचना प्रविधिको ज्ञान हो । हामी शिक्षक र अभिभावकले केटाकेटीहरूलाई मोबाइल चलाउन रोक्न खोज्यौं । त्यसले उनीहरूमा थप समस्या देखिएको छ । त्यसैले मोबाइल चलाउन रोक्ने होइन कि मोबाइललाई कसरी सही तरिकाले चलाउने, सिकाइसँग कसरी त्यसलाई जोड्न सकिन्छ भन्नेबारे मसँग केही आइडिया छ । त्यसका लागि विद्यालयमा आईसीटीको पूर्वाधार जरुरी छ । म त्यहीँ कुरा उहाँलाई लिखित मागका रूपमा राख्न चाहन्थें । उहाँले अभिभावक र गाउँलेहरूका अगाडि हप्काइरहेको भिडियोमा मेरो हातमा एउटा कागज देख्न सकिन्छ । हो त्यही कागज टाइप गर्दा म २ मिनेट मात्र ढिला भएको थिएँ । त्यही कुरा मैले बारम्बार भनें, उहाँ मेरो कुरा सुन्नै तयार हुनुभएन, एकोहोरो गाली मात्र गरिरहनुभयो ।
मेरो उहाँलाई अपमान गर्ने नियत थिएन । नत्र भने नयाँ वर्षको बिदाका दिन म विद्यालय आउने नै थिइनँ । यहीँबाट पनि थाहा हुन्छ कि मेरो नियत त्यो थिएन भन्ने । मागपत्र बनाउन लागेकाले २ मिनेट ढिला हुँदा ममाथि उहाँले के–के भन्नुभयो । तर ९ बजे अगाडि नै आउने भनेर साढे १० बजेसम्म गाउँलेहरूलाई पर्खाएको विषयमा भने उहाँलाई मतलब भएन ।
मेरो नियत सांसदको अपमान गर्ने नहुँदा नहुँदै माफी माग्नुपर्छ भनेपछि मैले माफी पनि मागेको थिएँ । तर तिमीहरूको सम्मान चाहिएन भनेर हिँड्नुभयो । जनताले मत दिएर जित्नुभएको माननीय हुनुहुन्छ । उहाँप्रति हाम्रो सम्मान यथावतै छ । हाम्रो आकांक्षा उहाँले हाम्रो विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि काम गर्नुहुनेछ भन्ने हो, जुन विश्वास अझै कायम छ ।




प्रतिक्रिया