ट्रम्पका विशेष दूतद्वारा अमेरिकन ड्रोन एभरेष्ट बेस क्याम्पमा उद्घाटन

ट्रम्पका विशेष दूतद्वारा अमेरिकन ड्रोन एभरेष्ट बेस क्याम्पमा उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज पनि सहभागी रहेका थिए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा गोरले ड्रोनको सार्वजनिकसँगै अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।

उनले अमेरिकी नवप्रवर्तन र नेपालको सहकार्यले हिमाली क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने र यसले भविष्यमा उद्धार तथा ढुवानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामी सुन्दर नेपालमा छौँ । हामी एभरेष्ट बेसक्याम्पमा उपस्थित छौँ र यहाँ हामीले अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छौँ । यो ड्रोनले सगरमाथा क्षेत्र वरपर सरसफाइ गर्न सक्ने क्षमता राख्छ, साथै आपतकालीन अवस्थामा आवश्यक सामग्री, अक्सिजन सिलिण्डर तथा आरोहीहरूको उद्दारका लागि आवश्यक सामानहरू पुर्‍याउन सक्षम छ ।’

उनको अनुसार ड्रोनको क्षमता करिब ५ केजीसम्मको भार बोक्न सक्ने रहेको छ । यो ड्रोन फ्रिफ्लाई सिस्टमद्वारा निर्माण गरिएको कार्गो ड्रोन हो भने विशेषगरी छायांकनको लागि ठूला क्यामरा लिफ्ट गर्नको लागि यो ड्रोनको प्रयोग गरीन्छ ।

‘५ केजीसम्मको भार उठाउन सक्ने यसको क्षमता छ । अमेरिकी कम्पनी फ्रिफ्लाई सिस्टम द्वारा निर्मित कार्गो ड्रोन । अमेरिकी प्रविधि र नेपालसँगको सहकार्यको उत्कृष्ट उदाहरण हो,’ उनले भने ।

यसअघि नेपालमा एयर लिफ्ट नामक कम्पनिले ४० केजीसम्मको भार क्षमता भएको ड्रोन बेस क्याम्प, क्याम्प नम्बर २ सम्म पुर्‍याइसकेको छ ।

यद्यपि ड्रोनको औपचारिक उद्घाटन भए पनि आवश्यक अनुमति प्रक्रिया पूरा नभइसकेको कारण हालसम्म यसको उडान परीक्षण सञ्चालन गर्न सकिएको छैन । सम्बन्धित निकायबाट अनुमति प्राप्त भएपछि मात्र यसको पूर्ण सञ्चालन हुने जनाइएको छ ।