क्रुज जहाजमा हन्टाभाइरस प्रकोपको आशंका

क्रुज जहाजमा हन्टाभाइरस प्रकोपको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेदरल्याण्ड्सको कम्पनीले सञ्चालन गरेको एउटा क्रुज जहाजमा हान्टाभाइरसको प्रकोप फैलिएको आंशका गरिएको छ। यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले एक बेलायती यात्रुमा संक्रमण पुष्टि भएको र उनलाई हाल आईसीयूमा राखेर उपचार भइरहेको बताएको छ । यसले गर्दा जहाजमा रहेका अन्य यात्रुहरूमा समेत सन्त्रास फैलिएको छ। यस प्रकोपबाट मृत्यु हुने पहिलो व्यक्ति ७० वर्षीय पुरुष हुन् । उनलाई जहाजमै अचानक ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने जस्ता लक्षण देखिएका थिए र सेन्ट हेलेना टापु पुगेपछि उनको मृत्यु भएको थियो।

त्यसको केही समयपछि उनकी ६९ वर्षीया श्रीमतीमा पनि सोही लक्षण देखिएको र दक्षिण अफ्रिकी अस्पतालमा उपचारका क्रममा उनको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।
विश्व स्वास्थ्य संगठनले यस घटनालाई गम्भीरतापूर्वक लिँदै आन्ध्र महासागरमा भइरहेको यस जनस्वास्थ्य संकटमा अनुसन्धान र सहयोग सुरु गरेको विज्ञप्ति मार्फत जनाएको छ।

डच झण्डा बोकेको यो पानीजहाज करिब तीन हप्ताअघि अर्जेन्टिनाको उशुआयाबाट प्रस्थान गरेको थियो जसमा विभिन्न देशका करिब १५० पर्यटकहरू सवार थिए। यो जहाजले अन्टार्कटिका, फकल्याण्ड टापु, दक्षिण जर्जिया र सेन्ट हेलेना जस्ता टापुहरूको भ्रमण गरिसकेको छ र आइतबार राति केप भर्डेको राजधानी प्रैयामा आइपुगेको छ।