काठमाण्डु – काठमाण्डु जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्ने कसूर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारी विरुद्धको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश दिएको छ ।
काठमाण्डु जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश दिएको छ ।
नक्कली कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको अभियोग छ । संगठित अपराधसहित ५ अभियोगमा मुद्दा दायर भएको झण्डै ३ वर्षपछि जिल्ला अदालतमा पेशी चढेर सुनुवाइ भएको छ ।
२०८० जेठ १० गते पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर भएको थियो ।
कसूरका मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्माका साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध दायर मुद्दा पनि विचाराधीन छ ।




प्रतिक्रिया