काठमाण्डु – देशको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औं वर्ष प्रवेशको अवसरमा बृहत् स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
‘किनकि जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै कम्पनीले नागरिकको स्वास्थ्य र जीवन सुरक्षाप्रति आफ्नो प्रतिबद्धता पुन: जाहेर गरेको हो ।
कम्पनीले वैशाख २१ र २२ गते काठमाण्डुको कमलादीस्थित आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । आरबी डायग्नोस्टिकको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, कोलस्ट्रोल, यूरिक एसिड र एसजीपीटी लगायतका महत्वपूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । २ दिनसम्म चलेको शिविरबाट कुल ६०१ जनाले नि:शुल्क स्वास्थ्य जाँच र विशेषज्ञ डाक्टरहरूबाट परामर्श सेवा प्राप्त गरेका छन् ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले सातै प्रदेशका १३ वटा मुख्य स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । ती कार्यक्रमहरूबाट कुल ५०५ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ ।
प्राप्त विवरणअनुसार बागमती प्रदेशको नारायणगढमा ८१ र काठमाण्डुमा ७८ पिन्ट रगत संकलन भएको छ । पोखरामा ५५, नुवाकोटमा ३९, भैरहवामा ३४, बुटवल र धनगढीमा ३३–३३ पिन्ट, बनेपामा ३२ र इटहरीमा ३० पिन्ट रगत संकलन भएको छ । हेटौँडामा २६ तथा वीरगञ्ज, जनकपुरधाम र सुर्खेतमा २५–२५ पिन्ट रगत संकलन भएको कम्पनीले उल्लेख गरेको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले विगत २५ वर्षदेखि कम्पनीलाई विश्वास गर्ने ग्राहक, शेयरधनी, कर्मचारी र अभिकर्ताहरूमा आभार व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सबै सरोकारवालाहरूको माया र सहकार्यले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
नेपालको जीवन बीमा बजारमा करिब ३० प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफले ७७ वटै जिल्लामा रहेका शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्ताहरूमार्फत सेवा प्रदान गर्दै आएको छ । हालसम्म करिब ५४ लाख नेपाली परिवारहरू कम्पनीमा आबद्ध रहेका छन् ।




प्रतिक्रिया