भैरहवाको कालिङ्गा क्यासिनोमा छापा, १९ नेपाली पक्राउ

भैरहवाको कालिङ्गा क्यासिनोमा छापा, १९ नेपाली पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवा खेलिरहेका १९ नेपाली पक्राउ भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट पक्राउ परेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालनमा रहेको कालिङ्गा क्यासिनोमा कानूनविपरीत नेपालीहरू जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीको अप्रेसनबाट क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र खेल्ने कार्यमा संलग्न १५ जना गरी १९ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेहरूमा रुपन्देहीको सिद्धर्थनगर नगरपालिका–६ गल्लामण्डी बस्ने २२ वर्षीय अभय कुमार गुप्ता, सिद्धार्थनगर नगरपालिका–२ बस्ने २६ वर्षीय सुशान्त अधिकारी, सिद्धार्थनगर नगरपालिका–१३ बस्ने २८ वर्षीय सन्जय शाक्य र रुपन्देहीकै ओमसतिया गाउँपालिका–२ बस्ने २९ वर्षीय निक्षेन्द नेपाल छन् ।

यसैगरी काठमाण्डुका ५० वर्षीय जीवन थापा, रुपन्देहीका ३२ वर्षीय आकाश गुप्‍ता, ३३ वर्षीय सुनारी मगर, २९ वर्षीय अब्दुल कलाम जोलहा, ५८ वर्षीय अभिषेक शर्मा, ४४ वर्षीय शिव पाण्डे, ३४ वर्षीय रोहन विक भन्ने तिल बहादुर विक, २१ वर्षीय सुरज जयसवाल, १८ वर्षीय रमेश यादव, ३८ वर्षीय निर्मल बस्याल र ३० वर्षीय भरत थापा पनि पक्राउ परेका छन् । यसैगरी गुल्मीका नेत्र पोख्रेल, ललितपुर ५० वर्षीय बाबुराजा महर्जन र पर्साको वीरगञ्ज महानगरपालिका–७ का ४४ वर्षीय जंगकुमार अग्रवाल पनि पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। उनीहरुको साथबाट ९५ हजार ५ सय रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।