काठमाण्डु- हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा पाँचथर जिल्लाका छ वटा विद्यालयको नतिजा शून्य आएको छ। एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका कुनै पनि विद्यार्थी ग्रेडेड हुन नसकेका हुन्।
फिदिम नगरपालिका २ स्थित कालिका माध्यमिक विद्यालय साम्दिनबाट आठ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना पनि उत्तीर्ण हुन सकेनन्। उक्त विद्यालयले गत वर्ष पनि कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन।
त्यस्तै, फाल्गुनन्द गाउँपालिका ३ स्थित सारताप मनरत्न माविबाट परीक्षामा सहभागी २६ जना विद्यार्थीमध्ये कोही पनि ग्रेडेड भएनन्।
मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एक संस्थागत विद्यालयको नतिजा पनि शून्य आएको छ। खान्द्रोङ मावि मिक्लाजुङ १ बाट सहभागी छ जना, चन्द्रोदय मावि मिक्लाजुङ ७ बाट १० जना तथा माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ ४ बाट सहभागी १० जना विद्यार्थीमध्ये कुनै पनि ग्रेडेड हुन सकेनन्।
फालेलुङ गाउँपालिका ३ स्थित सरस्वती मावि ताङलेपाबाट परीक्षामा सहभागी चार जना विद्यार्थीसमेत अनुत्तीर्ण भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लाभर नियमिततर्फ दुई हजार ९९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएकामा एक हजार ३४ जना मात्रै ग्रेडेड भएका छन्। यो कुल परीक्षार्थीको ४९ प्रतिशत हो।
प्राविधिक धारतर्फ एक सय २२ जना सहभागीमध्ये ६२ जना ग्रेडेड भएका छन्। जिल्लामा दुई जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन्।
स्थानीय तहगत रूपमा हेर्दा तुम्बेवा गाउँपालिकाले सबैभन्दा सन्तोषजनक नतिजा निकालेको छ। यहाँका छ विद्यालयबाट सहभागी १५४ जना विद्यार्थीमध्ये ८६ जना ग्रेडेड भएका छन्, जुन ६२ प्रतिशत हो।
यता, याङवरक गाउँपालिकाको नतिजा भने कमजोर देखिएको छ। सात विद्यालयबाट सहभागी २४३ जना विद्यार्थीमध्ये केवल ६५ जना मात्रै ग्रेडेड भएका छन्, जुन २६ प्रतिशत हो।
फिदिम नगरपालिकाका २० सामुदायिक विद्यालयबाट सहभागी ६ सय विद्यार्थीमध्ये २६९ जना ग्रेडेड भएका छन् भने पाँच संस्थागत विद्यालयबाट सहभागी १२९ जनामध्ये १०६ जना उत्तीर्ण भएका छन्। ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल फिदिम ८ बाट सहभागी सबै नौ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
फाल्गुनन्द गाउँपालिकाको सिद्धेश्वरी माविबाट सहभागी चारै जना विद्यार्थी उत्तीर्ण भएका छन् भने पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी सबै १६ जना विद्यार्थी ग्रेडेड भएका छन्।
शिक्षा शाखाका अधिकारीहरूले विद्यालयस्तरमा शैक्षिक गुणस्तर सुधार, शिक्षक व्यवस्थापन तथा विद्यार्थीको नियमित अध्ययनमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।




प्रतिक्रिया