वीरगन्जमा क्याम्पस प्रमुखमाथि दुर्व्यवहार, कालोमोसो दलेको आरोपमा दुई पक्राउ

वीरगन्जमा क्याम्पस प्रमुखमाथि दुर्व्यवहार, कालोमोसो दलेको आरोपमा दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी रायमाथि बिहीबार बिहान एक समूहले दुर्व्यवहार गर्दै कालोमोसो दलेको घटना सार्वजनिक भएको छ। क्याम्पस परिसरभित्रै पाँच–छ जनाको समूहले रायलाई लछारपछार गर्दै मोसो दलेको बताइएको छ।

सामुदायिक क्याम्पस हरिखेतानलाई सञ्चालक समितिले हस्तक्षेप गरी निजीकरण गर्न खोजेको आरोपमा विगत एक वर्षदेखि विवाद हुँदै आएको छ। पछिल्लो समय पुन नियुक्त गरिएका क्याम्पस प्रमुख राय र सञ्चालक समितिको मिलेमतोमा करारमा अध्यापनरत चार शिक्षकलाई सेवाबाट निष्कासन गर्ने निर्णय भएपछि विवाद थप चर्किएको थियो।

क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी शिक्षकहरू लालकिशोरप्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलिपकुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शिक्षक तथा कर्मचारीहरूले क्याम्पसमा तालाबन्दी गर्नुका साथै धर्ना दिँदै आएका थिए। क्याम्पस प्रमुख रायले पटक पटक ताला खोल्न आग्रह गरे पनि सहमति हुन नसक्दा विवाद उत्कर्षमा पुगेको थियो।

यसैबीच, क्याम्पस प्रमुखमाथि कालोमोसो दलेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न रहेको आरोपमा क्याम्पसकै दुई कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।