सुकुमबासी बस्तीबाट हटाइएका १४ बालबालिकालाई आवाससहित नि:शुल्क अध्ययन

सुकुमबासी बस्तीबाट हटाइएका १४ बालबालिकालाई आवाससहित नि:शुल्क अध्ययन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित नि:शुल्क अध्ययनको व्यवस्था गरेको छ ।

महानगरले विभिन्न विद्यालय र अभिभावकबिच सम्झौता गरी बालबालिकालाई १० कक्षासम्म नि:शुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो ।

विद्यार्थीहरूको नि:शुल्क आवासीय अध्ययनका विषयमा विभिन्न ४ प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू आईतबारदेखि नियमित विद्यालय जाने महानगरका कार्यबाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

उनले भनिन्, ‘पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार सुरक्षित गर्ने दायित्व हामी सबैको हो । त्यसका लागि अविचलित रूपमा काम गरिरहेका छौँ । यो शैक्षिक क्रियाकलाप मात्र होइन, मानवीय सेवा पनि हो । यो सेवाप्रति हामी प्रतिबद्ध छौँ ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमितिका अध्यक्ष गगनसिंह ऐरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरको समन्वयमा बालबालिकालाई उच्चस्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउने सहमति भएको जानकारी दिए ।

होल्डिङ सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको थियो । शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग भाडाको घरमा बस्न गएका छन् ।

हाल प्याब्सनअन्तर्गतका १० र एनप्याब्सन अन्तर्गतका ३ विद्यालयसँग सम्झौता गरिएको जनाइएको छ । प्याब्सनअन्तर्गतका एन्जल हर्ट स्कूल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कुल कपन बूढानीलकण्ठ, नेक्सस इन्टरनेसनल स्कुल पेप्सीकोला, इनोभेटिभ स्कुल शङ्खमूल, हेम्स स्कुल कालोपुल, केएमसी शङ्खमूल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कूल जोरपाटी र सुप्रिम इन्टरनेसनल स्कूल चावहिल रहेका छन् ।

एनप्याब्सन अन्तर्गतका प्रोग्रेसिभ सेकेन्डरी स्कुल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेसनल आइडल बोर्डिङ स्कुल मन्डिकाटारसँग सम्झौता भएको छ । बालबालिकालाई नि:शुल्क पढ्ने अवसर प्राप्त गरेकामा अभिभावकहरूले खुसी व्यक्त गरेका छन् ।