काठमाण्डु – विशेष महाधिवेशन गरेर सभापति गगनकुमार थापा पार्टी नेतृत्वमा स्थापित भएको र सर्वाेच्च अदालतबाट वैधानिकता पाइसकेको अवस्थामा पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरले पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा छुट्टै गतिविधि गर्न छाडेको छैन ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व कार्यबाहक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको संकेत गरे ।
सभापति थापासँग असन्तुष्ट देखिएका उनले पार्टी विभाजन हुनसक्ने बताए । अहिले पनि पार्टी सभापति गगन थापा सानेपाको मात्रै सभापति रहेको खड्काको आरोप छ ।
तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै उनले अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए । ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ उनले भने, ‘तर पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ भनेर सभापति र उपसभापतिलाई भनेको छु ।’
उनले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिएको जिकिर गरे । ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुईतिहाइ नजिक पुग्यो,’ उनले भने, ‘त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’




प्रतिक्रिया