काठमाण्डू, ३ जेठ–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेले आफ्ना पति स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको प्रेरणालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएकी छन् ।
३३औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीले बलियो जनसम्बन्ध र सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न मदन–आश्रितको प्रेरणाबाट अघि बढ्नुपर्ने बताए ।
तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ३ जेठ २०५० मा चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।
एमालेले जनमुखी कार्यशैली, आत्मानुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो ।
आज पनि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को सान्दर्भिकता उत्तकै रहेको भण्डारीले दाबी गरिन् ।
‘जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास हो’, उनले भनिन्, ‘बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ ।’
एमाले कार्यकर्ता जनताको बीचमा पुगेर जनताको दुःख–सुखमा सहभागी हुनुपर्ने भण्डारीले बताइन् ।




प्रतिक्रिया