काठमाण्डू- एमालेको पुरानो मुख्यालय रहेको बल्खुमा आइतबार आयोजित ३३औं मदन–आश्रित स्मृति दिवस समारोहमा अध्यक्ष केपी ओली सहभागी भएनन् ।
पार्टी केन्द्रीय कार्यालयकै आयोजनामा गरिएको कार्यक्रममा ओली सहभागी नहुनुलाई अर्थपूर्ण र आश्चर्यका रुपमा हेरिएको छ ।
ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यक्रमको अध्यक्षता गरे । प्रमुख अतिथि थिइन् मदन पत्नीसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । भण्डारीको नवीकरण भइसकेको पार्टी सदस्यता ओलीको नेतृत्वाई चुनौती दिएको भन्दै खोसिएको थियो ।
तर, पार्टीले नै आयोजना गरेको कार्यक्रममा उनलाई पहिलोचोटि प्रमुख अतिथि बनाइयो । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उप-महासचिव योगेश भट्टराईसहित अधिकांश नेता बल्खु पुगेका थिए । एमालेले हरेक वर्ष ३ जेठमा मदन–आश्रिम स्मृति दिवसको नाममा कार्यक्रम गर्दै आएको छ ।
भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो । एमालेले घटनालाई हत्या भन्दै आएको छ । पार्टीको मूल नेतृत्वमा स्थापित भएयता मदन-आश्रित स्मृति दिवसका सबै कार्यक्रममा ओली बल्खु जान्थे ।
०७२ सालको भूकम्पले एमालेले मदन नगर भन्ने गरेको बल्खु मुख्यालय भवन भत्किएपछि हाल ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन कार्यालय सञ्चालन हुँदै आएको छ ।
जेनजी आन्दोलनमा सरकारी पक्षबाट भएको हत्यामा दोषी रहेको आरोपमा ओलीलाई प्रहरीले गत १४ चैतमा गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो ।
पक्राउ परेकै दिन ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भए । पक्राउ परेको १३औं दिनमा २६ चैतमा पत्नी राधिकाको जिम्मामा हाजिर जमानीमा रिहा भए ।
३० चैतमा त्रिवि शिक्षण अस्पतालमा उनको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेर २२ एमएमको पत्थरी निकालियो ।
५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएर गुण्डु फर्किएका ओली त्यसयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
शनिबार बोलाइएको सचिवालय बैठक पनि ओलीले सोमबार बस्ने गरी पछि सारे । बाहिर ननिस्किए पनि निवासमा भने राजनीतिक भेटघाटमा व्यवस्त देखिन्छन् ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरलसहित लामो समयदेखि साथ दिँदै आएका नेताहरुले पार्टी नेतृत्व छाड्न दबाब दिएपछि ओली तनाबमा छन् । श्रोतका अनुसार सचिवालयमा ओलीको विपक्षमा बहुमत छ । केन्द्रीय समितिमा भने उनी अझै बलिया छन् ।
बल्खु गएनन्, फेसबुकबाट सम्झिए
औपचारिक कार्यक्रममा सहभागी नभए पनि ओलीले सामाजिक सञ्जालमार्फत मदन–आश्रितलाई स्मरण गरेका छन् ।
ओलीले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको बताए ।
जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भण्डारीको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना आफूलाई भइरहेको ओलीले लेखेका छन् ।
घाउहरु पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा र अभावहरू झन् गहिरिने ओलीले उल्लेख गरे ।
मदन भण्डारी–जीवराज आश्रित र आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू शारीरिक रूपमा नभए पनि उनीहरुका विचार र योगदान आफूहरुको राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेको उनको भनाइ छ ।
उनले जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभई यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको पनि बताए ।
‘मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ’, ओलीले भनेका छन्, ‘जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ प्रिय मदन–आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान ।’




प्रतिक्रिया