अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले आईतबार अण्डाको समर्थन मूल्य बढाएको हो ।

संघका अनुसार ठूलो अण्डा ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको ४८५ फार्मदर कायम गरिएको छ ।

संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ कायम गरिएको छ । यसअघि ठूलो अण्डा ४८५ र मध्यम अण्डा ४३५ कायम गरिएको उनले बताए । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले २ दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए ।

उनले भने, ‘किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ । कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ ।’

अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताए । अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक संघले समर्थन मूल्य जारी गर्दै आएको उनले जानकारी दिए ।

फार्महरूको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य जारी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार दाउन्ने एग्रो फार्म नवलपरासीको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९५० र मझौला ३ हजार ७५०, हिमचुली पोल्ट्री नवलपरासीको ठूलो अण्डा ३ हजार ९६० र मझौला ३ हजार ७६०, खिलुङ्ग एग्रो स्याङ्जाको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९७०, मझौला ३ हजार ७७०, जनकपुर एग्रो जनकपुरको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९८०, मझौला ३ हजार ७८५, पूर्वाञ्चल पोल्ट्र विराटनगरको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९८०, मझौला ३ हजार ७७० कायम गरिएको छ ।

शिवम् पोल्ट्री वीरगञ्जको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९६०, मझौला ३ हजार ७६०, लक्ष्य पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९८०, मझौला ३ हजार ७८०, खजाना एग्रो दाङको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९७५, मझौला ३ हजार ७७५, नेशनल काजी एग्रो कैलालीको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९६५, मझौला ३ हजार ७६५ मूल्य कायम गरिएको छ ।

सुविस/काठमाण्डु त्रिशूलीको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९६०, मझौला ३ हजार ७५०, मोडेल पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९५०, मझौला ३ हजार ७५५ र एनएमए पोल्ट्री झापाको ठूलो अण्डा प्रतिपेटी ३ हजार ९५०, मझौला ३ हजार ७६० कायम गरिएको सचिव पोखरेलले जानकारी दिए । उनका अनुसार एउटा पेटीमा ७ क्रेट (२१० अण्डा) हुन्छन् ।

लागत मूल्य समयमा पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन् ।