काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले संसदीय गतिविधिको समाचार संकलनमा खटिने पत्रकारमाथि भएको बेवास्ताप्रति सभामुख डोलप्रसाद (डिपी) अर्याल र संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा पत्रकारलाई दिइएको दुःखका कारण अन्तर्राष्ट्रिय जगतमै लजाउनुपर्ने अवस्था रहेको भन्दै उनले सदनको ध्यानाकर्षण गराए ।
संसदीय मामिलासम्बन्धी रिर्पोटिङमा खटिएका पत्रकारले सद्को गेट बाहिर ब्येहारेको दुःख र हरिबिजोग देखेर मन खिन्न भएको उनको भनाइ थियो ।
पत्रकारलाई तिर्खा लाग्दा पानी पिउने र शौच गर्न शौचालय जाने व्यवस्था मिलाउन उनले माग गरे । ‘रातदिन भोक निन्द्रा नभनेर जनतालाई सुसूचित गर्ने कर्ममा लागेका संसदीय मामिलाका पत्रकार साथीहरूलाई कम्तीमा तिर्खा लाग्दा पानी पिउन पाउने र पिशाब लाग्दा वासरुम जान पाउने व्यवस्था गरियोस्’, सुनारले भने, ‘यसको लागि म सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सुनारले पत्रकारहरूलाई संसद् बाहिर पानी पर्दा क्यामरा लुकाउन र घाम लाग्दा टाउने लुकाउन हम्मेहम्मे पर्ने अवस्थाले मुलुककै अन्तर्राष्ट्रिय बेइज्जत हुने टिप्पणी गरे ।
जेनजी आन्दोलनकारीले नयाँबानेश्वरस्थित संसद भवन २४ भदौमा आजगनी गरेपछि हाल प्रतिनिधिसभा बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनमा अस्थायी व्यवस्थापन गरिएको स्थानमा बस्दै आएको छ ।
स्थान अभावको कारण देखाउँदै संसद सचिवालयले संसदीय गतिविधिको रिपोर्टिङका लागि पत्रकारलाई भित्र प्रवेश दिएको छैन ।




प्रतिक्रिया