काठमाण्डू– परराष्ट्र मन्त्रालयले इरानी सेनाको नियन्त्रणमा रहेको नेपाली युवा अमृत झाको रिहाइबारे गलत सूचना प्रवाह भएको स्वीकार गर्दै माफी मागेको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै झाको अझै रिहाई नभएको स्पष्ट गरेको छ । विज्ञप्तिमा यसअघि रिहा भएको भन्ने गलत सूचना प्रवाह भएका कारण सृजना भएको अन्योलताप्रति क्षमायाचना गरिएको छ ।
विज्ञप्तिमा झा इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेको स्थानीय अदालतमा मुद्धा विचाराधीन रहेको उल्लेख छ ।
पानी जहाजको क्याप्टेनका रुपमा कार्यरत झासहित ६ जनालाई अमेरिका–इरान युद्ध सुरु हुनुअघि नै इरानी सेनाले हर्मुजको क्युसिएम टापुबाट नियन्त्रणमा लिएको थियो ।
मन्त्रालयले यसअघि नै झा रिहा भएको र नेपालस्थित परिवारको टेलिफोन सम्पर्कमा आएको भन्दै विज्ञप्ति जारी गरेको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भएको बताएका थिए ।
मन्त्रालयले अदालतमा विचाराधीन मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भए पनि झाको निष्पक्ष सुनुवाइ र कानुनी प्रतिरक्षाका लागि उपलब्ध सबै माध्यमहरूको प्रयोग गरी निरन्तर कूटनीतिक पहल जारी राखिएको दाबी गरेको छ ।
मन्त्रालयले कूटनीतिक अन्योल र त्यसबाट परेको असुविधाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले झाका परिवारलाई मन्त्रालयमै बोलाएर यथार्थ तथ्यबारे जानकारी गराइसकेको जानकारी पनि दिएको छ ।




प्रतिक्रिया