काठमाण्डु- चितवन टाँडीका रत्नप्रसाद खनाल दसैंमा घर जाने गाडीको खोजीमा फुलपातीका दिन कलंकी पुगे ।
कलंकीको माइक्रो स्टेशनमा रहेको गाडीमा चढे । जतिबेला उनी झसंग भए, त्यतिबेला माइक्रो बसमा यात्रु चढाउने दलालले उनीसँग हजार रुपैयाँ मागे । उनले सोधे, ‘भाडा त ६ सय ५० होइन र ?’
दलालले जवाफ दिए, ‘चाडपर्वमा कहाँ अरु बेलाको जस्तो कुरा गरेर हुन्छ ?’, उनी त्यत्तिमै रोकिएनन्, भाडा चित्त नबुझे गाडीबाट झर्न भने । रत्नप्रसादले नाजवाफ भएर ५ सयका दरका दुई नोट उनका हातमा थमाइदिए । उनलाई लाग्यो, ‘जसरी पनि घर नगई नहुने छ । किन किचकिच गर्नु ।’
रत्नप्रसाद मात्र होइन, दसैंको समयमा राजधानीबाट गाउँ जाने र आउने यात्रु तोकिएभन्दा धेरै भाडा तिर्न बाध्य भएका छन् । यसअघि चाडपर्वको समयमा भाडाको अनुगमन हुने गरेको भए पनि यसपटक अनुगमन फितलो हुँदा यात्रु ठगिएका हुन् ।
नारायणगढको पुलचोकबाट काठमाण्डु र पोखरा जाने यात्रु पनि तोकिएभन्दा बढी भाडा तिर्न बाध्य छ । त्यसबारे प्रहरी नै जानकार छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तोकिएभन्दा बढी भाडा असुल्ने गाडीमाथि कारबाही गरिएको दाबी गरे ।

‘हिजो मात्र पनि आँपटारीमा बढडी भाडा लिने चारवटा गाडीलाई कारबाही गरेका छौं’, उनले भने । थापाले जबर्जस्ती गरेर यात्रु तान्ने दलालहरुमाथि पनि कारबाही गरिएको बताए । तर, यातायात व्यवसायीहरुबाट पर्याप्त सहयोग नपाइएको गुनासो उनले गरे ।
‘पछिल्लो समय मात्र हामीले पुलचोकदेखि केन्द्रीय बसपार्कसम्मका सयभन्दा बढी दलाल समातेर मुद्धासमेत चलाएका छौं । पोखरा बसर्पाक र केन्द्रीय बसपार्कमा मात्र टिकट काउण्टर राख्न लगायौं’, उनले काठमाण्डुपाटीसँग भने, ‘पहिला यातायात व्यवसायीहरु नै दलालमुक्त गरिदिनुपर्यो भनेर आउनुहुन्छ । हामीले कारबाही गरेपछि हाम्रो यातायात कम्पनीको कर्मचारी हो छाडिदिनुपर्यो भन्नुहुन्छ ।’
आफूहरुले यातायात व्यवसायी र चालकलाई बिचौलिया र दलाललाई पैसा नदिनुस् भने पनि त्यो क्रम नरोकिएको थापाले स्वीकार गरे ।
‘पहिलाको तुलनामा बेथिति केही घटेको त छ । तर, व्यवसायी र चालकबाट सहयोग नपाउँदा सकेजति गर्न सकिएको छैन । हाम्रो प्रयास जारी रहन्छ’, थापाले बढी भाडा असुलेको र बिचौलियाबारे सूचना दिन यात्रुलाई आग्रह गरे ।
‘हामीले देखे-भेटेसम्म त कारबाही गरेका छौं । यसमा यात्रुहरुको पनि सहयोग चाहिन्छ’, थापाले भने । उनले दसैं सकिएकाले सोमबारदेखि नै चुल्ठे मुन्द्रे नियन्त्रण अभियान थालिने बताए ।


प्रतिक्रिया