पछिल्लो १० महिनामा पौने ६ लाख पर्यटक मुस्ताङ भित्रिए

पछिल्लो १० महिनामा पौने ६ लाख पर्यटक मुस्ताङ भित्रिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा पौने ६ लाख पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

१० महिनामा ४ लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

आन्तरिकतर्फ दुई लाख १९ हजार ८१७ पुरुष र दुई लाख २६९ जना महिला पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी बाह्यतर्फ ९० हजार ९५७ पुरुष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएका छन् ।

म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसास्थित प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्कअनुसार सबैभन्दा कम साउनमा १९ हजार ७९१ र सबैभन्दा बढी वैशाख महिनामा एक लाख पाँच हजार ५०३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्यालका अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म कोरला सडकको म्याग्दी हुँदै एक लाख ३१ हजार ६७२ वटा विभिन्न प्रकारका सवारीसाधन मुस्ताङ भित्रिएका छन् । वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत र वैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका उनको भनाइ छ ।

यसैगरी हिउँदयाम अघिको असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्याङ्कले देखाएको छ । बर्खायामको सुरुवाती समयको अनुकूल याममा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।

गत आर्थिक वर्षमा ७ लाख ५ हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । गतवर्ष भित्रिएका पर्यटकमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना बाह्य रहेका प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

चालु आवको भदौमा जेनजी युवाको आन्दोलन, अमेरिका–इजराइल र इरानबीचको मध्यपूर्वको द्वन्द्वका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको उनको बुझाइ छ ।