बालेन सरकार अधिनायकवादको बाटोमा छः पोखरेल

बालेन सरकार अधिनायकवादको बाटोमा छः पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ– एमाले महासचिव शंकर पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकार लोकप्रियताको आवरणमा अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाएका छन् ।

पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीले गृह जिल्ला दाङको तुलसीपुरमा बिहीबार गरेको पत्रकार सम्मेलनमा पोखरेलले लामो संघर्षबाट स्थापित लोकतन्त्र नयाँ जनादेशका नाममा अपहरित हुँदै गएको टिप्पणी गरे ।

‘जान्नेलाई छान्ने’ भन्नेहरुको सरकारले बिनाप्रतिस्पर्धाको सेनाका पूर्वअधिकारीलाई भटाभट नियुक्ति दिलाएर अभिनायकवादी लाइनमा हिंड्दै गरेको टिप्पणी गरे ।

‘नागरिक सत्ता अब नेपाली सेनाका भूतपूर्व जर्नेलहरूको सत्तामा बदल्ने खालको योजनामा सरकार हिँडी राखेको देखिन्छ,’ पोखरेलले भने, ‘एकातिर निजामती प्रशासनका लागि कुलिङ पिरियड चाहिन्छ भन्ने, अर्कोतर्फ फास्ट ट्र्याकबाट सेनाका भूतपूर्वहरूलाई धमाधम राजनीतिक नियुक्ति दिलाउने कामले के संकेत गर्दछ ।’

विद्यार्थीले पञ्चायतविरूद्ध संघर्ष गरेर स्थापना गरेको स्ववियु र मजदुरको ट्रेड युनियनको अधिकारमा प्रतिबन्ध लगाएर सरकारले आफूलाई अभिनायकवादी पुष्टि गरेको उनले तर्क थियो ।

नेपालकोमा संसदीय लोकतन्त्रात्मक शासन प्रणाली भए पनि प्रधानमन्त्री शाहले अमेरिकामा जस्तो प्रत्यक्ष राष्ट्रपतिको अभ्यास गर्न खोजेको भन्दै आपत्ति जनाए । संसदीय प्रजातन्त्रमा प्रधानमन्त्री संसदप्रति बफादार हुनुपर्नेमा संसदका दुई अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगर्नु संशयको प्रश्न भएको उल्लेख गरे ।

‘आफ्नै नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिले बाचन गरिरहँदा प्रधानमन्त्रीलाई संसदमा बस्नुपर्ने आवश्यकता महसुस हुँदैन । त्यसप्रतिको पश्चाताप बोध पनि हुँदैन’, उनले भने, ‘प्रधानमन्त्रीलाई पनि हुँदैन प्रधानमन्त्रीको पार्टीलाई पनि हुँदैन । के हामी साँच्चै संसदीय लोकतन्त्रको बाटोमा हिँडिरहेका छौं ?’