परराष्ट्रमन्त्री खनाल भारत जाने

परराष्ट्रमन्त्री खनाल भारत जाने

समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने, मोदीसँग पनि भेट गराउन पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल जेठ दोस्रो साता भारत जाने भएका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुने ‘इन्टरनेसनल बिग क्याट एलाइन्स शिखर सम्मेलन (आईबीसीए) मा सहभागी हुन मन्त्री खनाल भारत जाने तयारी छ ।

सम्मेलन जुन १–२ (जेठ १८–१९ गते) आयोजना हुँदैछ । भारतका विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल सम्मेलनमा सहभागी हुन लागेका हुन् । सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने छन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग पनि भेटवार्ता गर्ने तयारी छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनाल र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गराउन पहल भइरहेको छ ।

सम्मेलनस्थलमै प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री खनालबीच संक्षिप्त ‘साइडलाइन’ भेट हुन सक्ने अपेक्षा पनि गरिएको छ ।

परराष्ट्र स्रोतका अनुसार वाणिज्यमन्त्री पियुष गोयलसँग ‘वान अन वान’ वार्ताको तयारी पनि भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्री खनाल अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारत जान लागेको जानकारी दिए ।

यद्यपी उनले यस विषयमा थप जानकारी दिन मानेनन् । काठमाण्डुपाटीसँग उनले भने,‘मन्त्रीज्य भारत जाने कुरा छ । अहिले थप केही भन्न सकिँदैन ।’

नेपाल पनि आईबीसीएको सदस्य राष्ट्र हो । सम्मेलनमा नेपालसहित सदस्य राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

आईबीसीए भारतले सन् २०२३ अप्रिलमा प्रोजेक्ट टाइगरको ५०औँ वार्षिकोत्सवका अवसरमा सुरु गरेको एक वैश्विक गठबन्धन हो । यसको उद्देश्य विश्वका सात प्रमुख ठूला बिरालो प्रजातिका जनावरहरू–बाघ, सिंह, हिमचितुवा, चितुवा, जगुआर, प्यूमा र चीताको संरक्षण र सम्वद्र्धन गर्नु हो ।

सदस्य राष्ट्रहरूबीच सहकार्य, अनुसन्धान, तालिम, वन्यजन्तु संरक्षण प्रविधि आदानप्रदान तथा अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा जोड दिने यसले लक्ष्य राखेको छ ।

आईबीसीएमा नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, मलेसिया, मंगोलिया, इजिप्ट, केन्या, नाइजेरिया, युगान्डा, पेरु, सुरीनामसहित २४ देश सदस्य छन् ।

यसअघि गत अप्रिलमा परराष्ट्रमन्त्री खनाल र समकक्षी जयशंकरबिच मौरिससमा भेटवार्ता भएको थियो । खनाल–जयशंकरको भेटले भारतीय विदेशसचिव विक्रम मिस्रीको नेपाल भ्रमण तय गरेको थियो । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री वैशाख २८ गते नेपाल आउने तय भएको थियो ।

मिस्रीको भ्रमणको उद्देश्य नेपालका नयाँ प्रधानमन्त्री बालेन शाहलाई भारत दभ्रमणको निम्तो दिनु र नयाँ सरकारका प्राथमिकताबारे बुझ्नु थियो ।

तर प्रधानमन्त्री शाहले परराष्ट्रमन्त्रीभन्दा तल्लो तहका विदेशी अधिकारी वा नेतासँग भेट नगर्ने नीति अपनाएको र मिस्रीसँग भेट हुने सम्भावना नभएको कारणले उनको भ्रमण तत्कालका लागि स्थगित भएको जनाइएको छ ।

यस्तै, भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनाप्रति शाह सरकारले आपत्ति जनाएको विषयले पनि दुई देशबीचको सम्बन्धमा छाया पारेको छ ।

भारतले नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै अस्वीकार गरेको छ । यसै विषयमा नेपालले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पका विशेष दूत सर्जिओ गोरसँग पनि प्रधानमन्त्री शाहले भेट गरेका थिएनन् ।