ठप्प पूर्वाधार निर्माणको काम अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन

ठप्प पूर्वाधार निर्माणको काम अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू–प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले अचाक्ली मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण ठप्प भएको निस्कर्ष निकालेको छ ।

समितिको शुक्रबार बसेको बैठकले मूल्य वृद्धिको समस्या समाधान गरी विकास निर्माणमा देखिएको अवरोध अन्त्य गर्न निर्देशन दिएको हो ।

समितिले ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्साललाई छलफलमा बोलाएको थियो ।

मन्त्रीद्वयसँगको छलफलपछि समिति सभापति आशिष गजुरेलले अन्तर्राष्ट्रिय युद्धका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य वृद्धि भएका कारण विकास निर्माणका काम ठप्प भएको बताए ।

विकास निर्माण ठप्प हुँदा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर संकट उत्पन्न हुन सक्ने भएकाले तत्काल समस्या समाधान गर्न सम्बद्ध मन्त्रालयलाई निर्देशन दिइएको सभापति गजुरेलको भनाइ थियो ।

‘सार्वजनिक पूर्वाधारका आयोजनाहरूका समस्या तत्काल पहिचान गरी आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’, बैठकको निर्णय सुनाउँदै गजुरेलले भने, ‘मूल्यवृद्धि सम्बन्धमा, पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने निर्माण उद्योगहरू, इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि भई पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न जटिलता उत्पादन भएको छ । मूल्यवृद्धिका कारण धेरै निर्माण व्यवसायीले निर्माण कार्य गर्न नसकेर धेरै परियोजनाहरू अगाडि बढाउन नसकेको विषय आज बैठकमा गम्भीर रूपमा उठ्यो । यसले देश विकास र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने भएकाले यस्ता समस्याको तत्काल समाधान गर्न निर्देशन दिने निर्णय भएको छ ।’

समितिले सार्वजनिक खरिदसम्बन्धी कानुन विकासमैत्री नभएको निष्कर्षसहित चालु संसदय अधिवेशनमै सार्वजनिक खरिद कानुन परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।