भोक मेटाउन बच्चा बेच्न बाध्य अफगानि

भोक मेटाउन बच्चा बेच्न बाध्य अफगानि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बिहान हुनेबित्तिकै अफगानिस्तानको गोर प्रान्तको राजधानी चघचरानको धूलाम्मे चौकमा सयौं पुरुषहरू जम्मा हुन्छन् ।

थकित अनुहार लिएर उनीहरू सडकछेउ लामबद्ध उभिन्छन्, यस आशामा कि कोही आएर उनीहरूलाई केही खानेकुरा र काम दिनेछ । त्यसैमा निर्भर हुन्छन् कि त्यस दिन उनीहरूको परिवारले खाना पाउने कि नपाउने । तर काम पाउने सम्भावना अत्यन्त न्यून छ ।

४५ वर्षीय जुमा खानले पछिल्ला छ सातामा जम्मा तीन दिन मात्रै काम पाएका छन्, जसका लागि उनलाई प्रतिदिन १५० देखि २०० अफगानी (२.३५ देखि ३.१३ डलर) पारिश्रमिक दिइएको थियो ।

उनी भन्छन्, ‘मेरा छोराछोरी लगातार तीन रात भोकै सुते । मेरी श्रीमती रोइरहेकी थिइन्, बच्चाहरू पनि रोइरहेका थिए । त्यसैले मैले छिमेकीसँग पिठो किन्न पैसा सापटी माग्नुपर्‍यो ।’

‘मलाई डर छ, मेरा बच्चाहरू भोकले मर्नेछन्’, उनी भन्छन् । उनको कथा कुनै असामान्य होइन ।

संयुक्त राष्ट्रकाअनुसार अहिले अफगानिस्तानमा प्रत्येक चार जनामध्ये तीन जनाले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सकेका छैनन् । बेरोजगारी व्यापक छ, स्वास्थ्य सेवा प्रणाली धराशायी बनेको छ र कहिल्यै लाखौं मानिसको आधारभूत आवश्यकता पूरा गर्ने सहायता अहिले अत्यन्त सीमित बनेको छ ।

अफगानिस्तानमा भोकमरी अहिले जुन रेकर्ड स्तरमा पुगेको छ यसले करिब ४७ लाख मानिस अकाल खाद्यान्न अभावको संघारमा छन् ।

गोर तीमध्ये सबैभन्दा बढी प्रभावित प्रान्तहरूमध्ये एक हो । यहाँका मानिसहरू अत्यन्त निराश छन् । स्थानीय रबानी रुँदै भन्छन्, ‘मलाई फोन आयो कि मेरा बच्चाहरूले दुई दिनदेखि केही खाएका छैनन् । मलाई लाग्यो मैले आफूलाई नै मारिदिउँ । तर त्यसले मेरो परिवारलाई के फाइदा गर्ला ? त्यसैले म यहाँ कामको खोजीमा उभिएको छु ।’

ख्वाजा अहमद केही शब्द बोल्न नपाउँदै भक्कानिन्छन् । उनी भन्छन्, ‘हामी भोकले तड्पिरहेका छौं । मेरा केही बच्चाहरू मरिसके । त्यसैले परिवार पाल्न काम गर्नुपर्छ । तर म बूढो भएँ, कसैले काम दिन चाहँदैन ।’

नजिकैको एउटा स्थानीय बेकरी खुल्नेबित्तिकै पसलेले भीडमा बासी रोटी बाँड्न थाल्छ । केही सेकेन्डमै खोसाखोस हुन्छ र रोटीका टुक्राहरूका लागि मानिसहरू झगडा गर्न थाल्छन् ।

अचानक फेरि अर्को हुलदंगा मच्चिन्छ । मोटरसाइकलमा आएका एक व्यक्तिलाई इँटा बोक्ने मजदुर चाहिएको हुन्छ । दर्जनौं मानिस उनीतर्फ दौडिन्छन् । तर त्यो अवधिमा केवल तीन जनाले मात्रै काम पाए ।

नजिकैका बस्तीहरूको पछाडि सियाह कोह पर्वत शृंखलाका हिउँले ढाकिएका चुचुराहरू देखिन्छन् । तिनको वरिपरि रहेका उजाड खैरो पहाडमा छरिएका कच्ची घरहरूले बेरोजगारीको विनाशकारी असर स्पष्ट देखाउँछन् ।

छोरी बेच्न बाध्य परिवार

अब्दुल रशीद अजीमीको दुई जुम्ल्याहा छोरीहरू छन्–सात वर्षीया रोकिया र रोहिला । उनी उनीहरूलाई काखमा कस्सिएर समात्छन्, मानौं आफूले भोगिरहेको पीडा सुनाउन आतुर छन् ।

रुँदै उनी भन्छन्, “म आफ्ना छोरीहरू बेच्न तयार छु । म गरिब छु, ऋणमा डुबेको छु र असहाय छु ।’

‘कामबाट घर फर्कँदा मेरा ओठ सुकिसकेका हुन्छन् । म भोकै, तिर्खै, चिन्तित र अन्योलमा हुन्छु । मेरा बच्चाहरू आएर भन्छन्, ‘बाबा, हामीलाई रोटी देऊ । तर म के दिऊँ ? काम कहाँ छ ?’

अब्दुल भन्छन्, ‘उनी आफ्ना छोरीहरूलाई विवाह वा घरायसी कामका लागि बेच्न तयार छन् ।’ उनी रोहिलालाई अँगालो हालेर चुम्छन् र भन्छन्, ‘यसले मेरो मुटु टुक्रिन्छ, तर मसँग अर्को बाटो छैन ।’

उनीहरूको आमा कायहान भन्छिन्, ‘हामीसँग खाने भनेको रोटी र तातो पानी मात्रै छ, चिया पनि छैन ।’ छोराभन्दा छोरी बेच्ने निर्णय गर्नुको कारण सांस्कृतिक मान्यता पनि हो, जसअनुसार छोराहरूलाई भविष्यका कमाउने सदस्यका रूपमा हेरिन्छ ।

अफगानिस्तानमा महिलाहरू र किशोरीहरूको शिक्षा तथा रोजगारीमा तालिबान सरकारले लगाएको प्रतिबन्धले यो सोचलाई अझ गहिरो बनाएको छ । त्यसैगरी विवाहका बेला केटापक्षले केटीपक्षलाई उपहार दिने परम्परा पनि छ ।

अब्दुल र कायहानका दुई किशोर छोराहरू शहरको केन्द्रमा जुत्ता पालिस गर्ने काम गर्छन् । अर्को एक छोराले फोहोर संकलन गर्छ, जसलाई कायहान खाना पकाउने इन्धनका रूपमा प्रयोग गर्छिन् ।

छोरी बेचेर उपचार

सईद अहमद भन्छन्, ‘उनकी पाँच वर्षीया छोरी शाइकालाई एपेन्डिसाइटिस र कलेजोमा सिस्ट भएपछि उनलाई छोरी बेच्न बाध्य हुनुपर्‍यो ।’

उनी भन्छन्, ‘उपचार खर्च तिर्न मसँग पैसा थिएन । त्यसैले मैले आफ्नी छोरी एक जना आफन्तलाई बेचें ।’

शाइकारको शल्यक्रिया सफल भयो । तर त्यसका लागि २ लाख अफगानी (३,२०० डलर) खर्च भयो, जुन रकम छोरी बेचेर आएको थियो ।

अफगानिस्तानमा बालविवाह अझै व्यापक छ र किशोरीहरूको शिक्षामाथि तालिबान सरकारले लगाएको प्रतिबन्धका कारण यो अझ बढ्दो अवस्थामा छ ।

घट्दै सहायता, बढ्दै संकट

केही वर्षअघिसम्म सईदले केही सहायता पाइरहेका थिए । त्यतिबेला अफगानिस्तानका लाखौं मानिसझैं उनी र उनको परिवारले खाद्य सहायता पाउँथे–पिठो, खाने तेल, दाल र बालबालिकाका लागि पोषण सामग्री ।

तर पछिल्ला वर्षहरूमा सहायता रकममा ठूलो कटौती भएपछि लाखौं मानिस जीवनरक्षक सहायताबाट वञ्चित भएका छन् ।

कुनै बेला अफगानिस्तानको सबैभन्दा ठूलो दाता रहेको संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग सम्पूर्ण सहायता बन्द गरिदियो । बेलायतसहित अन्य धेरै प्रमुख दाताहरूले पनि आफ्नो योगदानमा ठूलो कटौती गरेका छन् ।

संयुक्त राष्ट्रका हालका तथ्यांकअनुसार यस वर्ष अहिलेसम्म प्राप्त सहायता २०२५ को तुलनामा ७० प्रतिशत कम छ । देशका आधाभन्दा बढी प्रान्तमा परेको भीषण खडेरीले अवस्था अझ खराब बनाएको छ ।

स्थानीय अब्दुल मलिक भन्छन्, ‘हामीले कसैबाट कुनै सहायता पाएनौं, न सरकारबाट, न गैरसरकारी संस्थाबाट ।’

सन् २०२१ मा सत्तामा आएको तालिबान सरकारले यसको दोष अफगानिस्तानको अघिल्लो सरकारलाई दिन्छ, जुन विदेशी सेना फिर्ता भएपछि हटाइएको थियो ।

तालिबान सरकारका उपप्रवक्ता हम्दुल्लाह फित्रतले बीबीसी सँग भने, ‘२० वर्षको आक्रमण अवधिमा अमेरिकी डलरको प्रवाहका कारण कृत्रिम अर्थतन्त्र निर्माण गरिएको थियो ।’

‘आक्रमण समाप्त भएपछि हामीले गरिबी, कठिनाइ, बेरोजगारी र अन्य समस्या विरासतमा पायौं’, उनले दाबी गरे । तर दाता राष्ट्रहरूले सहयोग घटाउनुको एउटा मुख्य कारण तालिबानका आफ्नै नीतिहरू पनि हुन्, विशेष गरी महिलामाथि लगाइएका प्रतिबन्धहरू ।