काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
रास्वपा सचिवालयका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित संसद्को लेखा समितिको बैठक कक्षमा बस्नेछ ।
बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर तथा जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ ।
सबै दललाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछानेले प्रमुख नेताहरूसँग टेलिफोनमार्फत पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको अत्यन्त संवेदनशील र दु:खद घटनापछि उत्पन्न परिस्थितिमा सामाजिक रूपमा फैलिन सक्ने द्वेष न्यूनीकरण गर्दै सद्भाव, शान्ति र सुरक्षा कायम राख्न प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताए ।
बैठकमा सुनसरी घटनापछि विकसित परिस्थितिको समीक्षा, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा राजनीतिक दलहरूको साझा धारणा र भूमिकाबारे छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया