काठमाण्डुमा छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन, त्रुटि सच्याउन २ दिन समय

काठमाण्डुमा छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन, त्रुटि सच्याउन २ दिन समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका भित्रका विद्यालयहरूबाट ११ र १२ कक्षामा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन् ।

यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन् ।

आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकाले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उनीहरूले भोलि दिउँसो १२ जनासम्म विवरण सच्याएर पुन: पेश गर्नुपर्नेछ ।

प्रणालीमार्फत आवेदन दिन असजिलो महसूस गर्ने अभिभावक र विद्यार्थीहरूलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ । अभिभावक र विद्यार्थीहरूले कक्षबाट सहायता प्राप्त गर्न सक्नेछन् ।

अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको छ । खड्काका अनुसार विद्यार्थीहरूको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नुपर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वत: रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ ।

आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेशपत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिनेछ ।

आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भरेका छन् । यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना छन् ।

१० कक्षासम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले सिफारिस गर्छ । ११ र १२ कक्षाको छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा सिफारिस गर्छ ।

परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ लिस्टबाट नाम सिफारिस हुन्छ । नाम सिफारिस गरिएका विद्यार्थीहरूले ११/१२ कक्षामा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।