काठमाण्डु- जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रका उच्च लेकहरुमा यार्सा सङ्कलन भइरहेको छ ।
यहाँका आधा दर्जन बढी उच्चलेक, खर्क र पाटनमा यार्सा गुम्बा सङ्कलन भइरहेको एक्यापले जनाएको छ । समुद्री सतहको चार हजारमाथिको उचाइ क्षेत्रमा वन्य औषधीय जटीबुटी यार्सा पाइन्छ ।
बर्सेनि वैशाखदेखि असारमहिना सङ्कलन गरिने यार्सा सङ्कलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्रमा तोकेको शुल्क तिरेर अनुमतिपत्र पुर्जी लिई पाटन गएका छन् । एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले जानकारी दिए ।
यार्सा सङ्कलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक्याप कार्यालयबाट पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान रहेको उनको भनाइ छ ।
मुस्ताङको पाँच स्थानीय तहमध्ये थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रका उच्चलेक, खर्क र पाटनमा यार्सा सङ्कलन कार्य सुरु भइसकेको छ ।
स्रोत संरक्षण सहायक ओलीका अनुसार थासाङ गाउँपालिकाको कुञ्जो, कोवाङ, टुकुचेलगायतका संरक्षण व्यवस्थापन समितिले वैशाख २ गतेदेखि उच्चलेकमा यार्सा सङ्कलन फुकुवा गरेका हुन् ।
घरपझोङ गाउँपालिकामा वैशाख २५ गतेदेखि यार्सा सङ्कलन फुकुवा गरेको समितिका सचिव पवन गुरुङले जानकारी दिए । घरपझोङ–५ छत्रबाङ लेकदेखि नमखुलेक, हुँदै लुप्रा लेकसँग सिमाना जोडिएको कुङ्ले लेकसम्मको क्षेत्रमा यार्सा सङ्कलन फुकुवा गरिएको गुरुङले बताए ।
समितीले यार्सा सङ्कलनका लागि ढुम्बा, सम्ले, ठिनी र जोमसोमका रैथाने कुरिया दर्ता भएका स्थानीयलाई चार हजार र स्थानीयको घर खेत अधिया कमाएर बसेका व्यक्तिहरुलाई छ हजार शुल्क लिने गरी अनुमतिपत्र पुर्जी दिने गरेको छ । लेकमा हालसम्म ६५ जनाले अनुमति लिएका गुरुङले जानकारी दिए।
एक्यापअन्तर्गत वारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आइतबारदेखि यार्सा सङ्कलन फुकुवा गरेको जनाएको छ । समिति मातहतको उच्चलेकमा यार्सा सङ्कलन गर्ने अनुमतिका लागि स्थानीय व्यक्तिलाई रु तीन हजार र जिल्ला बाहिरका व्यक्तिलाई रु छ हजार शुल्क तोकिएको छ ।
मुक्तिनाथ माथिको रिसम्बा लेक र लुप्रा गाउँ माथिको नेर झोङ उच्चलेकमा यार्सा सङ्कलन गर्न दुईदिनको फेरोमा १६५ जना व्यक्तिले अनुमतिपत्र लिइसकेका छन् । मुक्तिनाथ क्षेत्रको उच्चलेक, खर्क र पाटनमा उच्चलेकमा यार्सा अनुमति लिनेहरु शतप्रतिशत जिल्ला बाहिरका व्यक्तिहरु भएको गुरुङले बताए।
गत वर्ष यार्सा गुम्बाको मूल्य कम भएकाले यस वर्ष यार्सा सङ्कलनकर्ता कम मात्रामा आएका मुक्तिनाथ समितिले जनाएको छ । गतवर्षको तुलनामा यस वर्ष मुक्तिनाथ लेंकमा यार्सा सङ्कलन गर्नेको सङ्ख्या ५० प्रतिशतले घटेको उनको भनाइ छ ।
वारागुङ मुक्तिक्षेत्र–२ को झोङ संरक्षण व्यवस्थापन समितिले पनि एक्यापबाट अनुमति लिएर उच्चलेकमा यार्सा सङ्कलन गर्न फुकुवा गरेको जनाइएको छ ।
यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–५ ताङ्ग्यास्थित सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पनि यार्सा सङ्कलन फुकुवा गरिसकेको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले बताए। लोमान्थाङ गाउँपालिकामा यार्सा सङ्कलन नहुने गरेको र लोघेरक दामोदरकुण्डमा सुर्खाङ समितिले मात्रै यार्सा सङ्कलन फुकुवा गरेको पौडेलले जानकारी दिए।
अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत उच्चलेकमा एक्यापअन्तर्गत यार्सा सङ्कलन अनुमपतिपत्र पुर्जी वितरण गरिएको भएपनि कतिपय लेकहरुमा यार्सा सङ्कलन गर्न एक्यापको अनुमति नलिई यार्सा गुम्बा फुकुवा गरिएको छ ।
घरपझोङ–२ मार्फा, वारागुङ मुक्तिक्षेत्र अन्तर्गत छेङ्गुर,कागबेनी र छुसाङलगायतका गाउँबाट एक्यापको समन्वय नभई गाउँ समाजबाटै यार्सा सङ्कलन फुकुवा गरिएको छ ।
मुस्ताङमा यार्सा गुम्बा सङ्कलन गर्ने सिजन सुरु भएसँगै यहाँका उच्चलेक, खर्क र पाटनहरुमा यार्सा सङ्कलनकर्ताको चहलपहल बढेको छ । यार्सा सङ्कलनका लागि एकदुई महिनासम्म लेंकमा बस्ने गरी खाने र बस्ने लगायतका बन्दोबस्तीका सामान साथै लिएर यार्सा सङ्कलन गर्ने व्यक्तिहरु उच्चलेकमा पुगिसकेका छन् ।
मुस्ताङका उच्चलेंकमा सङ्कलन गरिएका यार्सा गुम्बा जिल्ला बाहिर लैजान परेमा सम्वन्धित स्थानीय तह, संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई राजश्व र दस्तुर बुझाउनुपर्ने हुन्छ । यार्साको कारोबार गर्ने व्यापारीले जिल्ला बाहिर ढुवानी गर्नु परेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नियमअनुसार प्रतिकेजी रु ३१ हजार राजस्व बुझाउनुपर्ने प्रावधान रहेको छ । यसको बजार मूल्य गुणस्तरका आधारमा प्रतिकेजी सरदर रु १५ लाखदेखि २५ लाखसम्म रहने गोर्खाका यार्सा व्यवसायी काजीराम गुरुले बताए ।
राजस्व तिरेर जिल्लाबाट वार्षिकरुपमा पाँचदेखि सात केजीसम्म निर्यात हुने गरेको सरकारी तथ्याङ्क छ । नेपालबाट उत्पादित यार्सामध्ये ८० प्रतिशत चीन अन्य देशमा बाँकी निर्यात हुने गरेको छ ।
यार्साको सिजन सुरु भएसँगै एक्यापले वन्यजन्तुको चोरी सिकारी, वन डढेलो नियन्त्रण र उच्चलेक, खर्क र पाटनमा हुनसक्ने अवान्छित गतिविधि रोकथाम गर्न यसै वर्षदेखि एआई जडित ड्रोन क्यामेरा प्रयोगमा ल्याएको छ । उच्चलेकमा हुने सबै प्रकारको जोखिम र अपराध नियन्त्रण तथा त्यसको पहिचान गर्न एआई ड्रोन क्यामेरा प्रयोगमा ल्याएको हो । यसका अलावा वन तथा उच्चलेकमा अपराधिक क्रियाकलाप रोक्न एक्यापद्वार प्रशासन,प्रहरी र संरक्षण क्षेत्र व्यवस्थापन समितिको रोहबर पैदल गस्तीसमेत गर्ने गरिएको एक्यापले जनाएको छ ।
हिमाली क्षेत्रको उच्चलेक, खर्क र पाटनमा पाइने औषधीय जडीबुटी यार्सा गुम्बा एक प्रकारको प्राकृतिक जीव र वनस्पति मिश्रित जीव हो । यसलाई कतिपयले यार्सा नभनी किरा टिप्न जाने भनेरसमेत भन्ने गर्छन । हिमाली क्षेत्रको उच्चलेकमा पाइने एक विषेश प्रकारको पुतलीको लार्भा किरा जमिनभित्र बस्छ । त्यस किराको शरीरमा ‘कर्डिसेप्स’नामको ढुसी प्रवेश गर्छ ।
ढुसीले विस्तारै किराको शरीरभित्र विकशित हुँदै किरालाई मारेपछि त्यसभित्र बस्छ । हिउँदयामको जाडो महिना सुरु हुँदा मृत किराको टाउँकोबाट सानो घाँस जस्तो डाँठ पैदा भई बाहिर निस्कन्छ । सोही किराको शरीर र माथि उम्रिएको ढुसी मिलेर बनेको वस्तुलाई यार्सा गुम्बा भन्ने गरिएको हो ।
समग्रतामा यार्सा भनेको गर्मीयामको घाँस र गुम्बा भनेको जाडोयामको किरा भन्ने तिब्बती अर्थबाट यसको नामकरण गरिएको हो ।
हिमाली क्षेत्रमा पाइने यार्सा गुम्बाको सेवनले शारीरिक तन्दुरुस्ती र ताकत क्षमता बढाउने गर्छ । यार्सा सेवनले यौन क्षमता र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी मानिन्छ । यार्सा गुम्बालाई विदेशीहरुले औषधी उत्पादनका लागि प्राकृतिक केमिकलको रुपमा प्रयोग गर्ने भएकाले विश्व बजारमा यसको खपत बढी हुने गरेको छ ।




प्रतिक्रिया