काठमाण्डु- सरकारको प्रभावकारी व्यवस्थापनसँगै मुलुकभर सिँचाइयोग्य क्षेत्रफल क्रमश विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयको प्रगति विवरणअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ आयोजनाबाट हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।
प्रतिवेदन अनुसार पाँच लाख ३२ हजार ६५५ हेक्टर क्षेत्रमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध भएको छ । वर्षैभरि सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सरकारले विभिन्न ठूला तथा महत्वपूर्ण आयोजना अगाडि बढाएको जनाएको छ ।
मन्त्रालयका अनुसार भूमिगत सिँचाइ आयोजनामार्फत १० लाख ३७ हजार ८४८ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गरिएको छ । लिफ्ट तथा जलाशय सिँचाइ कार्यक्रमबाट थप छ हजार ८८ हेक्टर क्षेत्र सिञ्चित भएको छ ।
त्यस्तै, महाकाली, कर्णाली, नारायणी, कोशीलगायत ठूला नदीमा नदी नियन्त्रण कार्यक्रमअन्तर्गत एक हजार ४९४ किलोमिटरभन्दा बढी तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणबाट १३ हजार ८९१ हेक्टर जग्गा उकास भएको मन्त्रालयले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत १९२ जलमापन केन्द्र र ३५५ मौसममापन केन्द्र सञ्चालनमा रहेका छन् । जोखिमयुक्त बजार संरक्षण, पहिरो व्यवस्थापन तथा नदी कटान नियन्त्रणका काम पनि जारी रहेको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा नदी नियन्त्रण तथा विपद् जोखिम व्यवस्थापनका लागि पाँच अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।




प्रतिक्रिया