काठमाण्डु-नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढे पनि उनीहरूको औसत दैनिक खर्च भने घटेको देखिएको छ । सरकारद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२ र ८३ अनुसार सन् २०२५ मा नेपाल आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको हो ।
सर्वेक्षणअनुसार सन् २०२४ मा प्रतिपर्यटक औसत दैनिक खर्च ४०.८४ अमेरिकी डलर रहेकामा सन् २०२५ मा घटेर ३३.०८ अमेरिकी डलरमा सीमित भएको छ ।
नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले पर्याप्त खर्च नगरे पर्यटनबाट अपेक्षित आर्थिक समृद्धि हासिल गर्न कठिन हुने बताए। उनका अनुसार नेपाल आउनकै लागि पर्यटकले हवाई टिकटमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले यहाँ आएपछि खर्च कटौती गर्ने अवस्था रहेको छ ।
उनले पर्यटकलाई बढी खर्च गर्न आकर्षित गर्ने वातावरण बनाउन विलासी पर्यटन प्याकेज सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए। सडक तथा यातायात पूर्वाधार सुधार, कलात्मक संरचना निर्माण र ट्राभल शुल्क घटाउन सके पर्यटकको खर्च क्षमता बढ्न सक्ने उनको भनाइ छ ।
आर्थिक सर्वेक्षणअनुसार सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणाली सिटिएमआइएस मार्फत अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति गणना गर्न थालेपछि औसत खर्चको तथ्याङ्कमा समेत प्रभाव परेको उल्लेख गरिएको छ ।
यद्यपि, पर्यटक आगमनमा भने वृद्धि भएको छ । सन् २०२५ मा नेपाल आउने पर्यटकको संख्या १ .३ प्रतिशतले बढेर ११ लाख ६२ हजार ३६५ पुगेको छ । सन् २०२४ मा यो संख्या ११ लाख ४७ हजार ५४८ थियो ।
नेपाल आउने पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा तथा मनोरञ्जनका लागि आउने गरेका छन् । तीर्थयात्राका लागि आउने पर्यटक १४.४ प्रतिशत, पदयात्रा तथा पर्वतारोहणका लागि १४.२ प्रतिशत र व्यापार, अध्ययन तथा अन्य प्रयोजनका लागि ११.२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
पर्यटकको बसाइ अवधि भने बढेको छ । सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइ अवधि १३.३० दिन रहेकामा सन् २०२५ मा बढेर १६ .३४ दिन पुगेको छ ।
देशअनुसार हेर्दा भारतबाट सबैभन्दा बढी करिब दुई लाख ९३ हजार पर्यटक नेपाल आएका छन् । त्यसपछि अमेरिकाबाट एक लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बङ्गलादेशबाट ५८ हजार, अष्ट्रेलियाबाट ५० हजार, श्रीलङ्काबाट ३८ हजार, थाइल्यान्डबाट ३० हजार, जर्मनीबाट ३० हजार र जापानबाट २५ हजार पर्यटक नेपाल आएका छन् । अन्य मुलुकबाट तीन लाख ७१ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
सर्वेक्षणले सन् २०२५ मा पर्यटन क्षेत्रबाट हुने भ्रमण आय ४ दशमलव ८ प्रतिशतले बढेको देखाएको छ । गत आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ आम्दानी भएको थियो ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमला ले पर्यटकले गुणस्तरीय सेवा र किनमेलका वस्तु नपाउँदा खर्च कम भएको बताए। उनका अनुसार पर्यटकको चाहनाअनुसार सेवा प्रवाह र गुणस्तरीय उत्पादनमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता छ ।




प्रतिक्रिया